Shittalpati
सरस्वती जयन्ति श्री पञ्चमी

मदन देउराली
प्रत्येक वर्षको माघ शुक्ल पञ्चमी तिथिलाई सरस्वती जयन्ति, श्री पञ्चमी, बसन्त पंचमी सबै नामले सम्बोधन गरिन्छ । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गर्ने दिन । आज विहानदेखि नै स्कूले विद्याार्र्थीहरु नजिकैका सरस्वती मन्दिरमा माता सरस्वतीको पूजा आराधना गर्न पुग्दछन् । सरस्वतीको मन्दिर तथा घर–घर विद्यालयहरुमा धूमधामका साथ सरस्वतीको पूजा गरिन्छ । मूलतः सरस्वतीको मन्दिरहरुमा विद्यार्थीहरु विद्या प्राप्तिको कामना गर्दै प्रार्थना गरी धुप,अक्षता चन्दन दीप नेबैद्य र भेटी चढाई सरस्वतीको पूजा गर्दछन् । आजको दिन विद्याकी अधिष्ठात्री आराध्यदेवी सरस्वतीको जन्म जयन्ति भएकाले शिशुहरुलाई साउँ अक्षर सिकाउन सुरु गरी ती कलिला शिशुहरुको अज्ञानी हृदयमा ज्ञानको ज्योति बालि विद्या साधनाको जग बसालिन्छ । सरस्वती मन्दिरको भित्तामा साना–साना विद्यार्थीहरुलाई चक अथवा कोइलाले अक्षर लेखाउदै गरेको देखिन्छ । विद्यार्थीहरुको स्मरण शक्ति तिक्ष्ण होस भनेर पूजा गरिएका सात दाना अक्षता मुखमा राखी दाँतले नछुने गरी निल्न लगाइन्छ । यो त माता प्रतिको विश्वास हो । आजको दिन शैक्षिक समुदाय मात्र नभएर सांगीतिक क्षेत्रका सर्जकहरु पनि आफ्ना साजबाजलाई पूजा गरी माता सरस्वतीको आराधना गर्दछन् ।

सरस्वती मातालाई ज्ञान र बुद्धिको देवीको रुपमा पुजिन्छ । सत्वगुण प्रधान हंसवाहिनी सरस्वतीको आफ्नो स्वरुप शुक्लवर्णको छँदैछ तथा उनले प्रयोग गर्ने वीणा, पुस्तक, माला र वाहन आदि पनि सेतै रंगका हुन्छन् । ज्ञानको स्वरुप सेतो हुन्छ अत माताको पहिरनदेखि सबै सेतो हुनु स्वभाभिक मानिन्छ । शुद्ध सेतो बस्त्रमा सजिएकी माता सेतो कमलको फूलमा विराजमान भएको पाइन्छ । सेतो रंग शुद्धता र ज्ञानको प्रतीक हो र सेतो साडी शुद्ध ज्ञानको अवतार भन्ने बुझाउँछ । कमलको फूल प्रकाश, ज्ञान, सचेतनता र सत्य सर्बोच्च वास्तविकताको प्रतिक हो भने सेतो कमलमा विराजमान भएकी माता सरस्वती आफै सर्बोच्च ज्ञानको भण्डार हो भन्ने अर्थ बुझाउँछ । देवीको चार हातले मन भावना, बौद्धिकता, तर्क, कल्पना, रचनात्मक र आत्म चेतना, अहमको प्रतिनिधित्व गर्दछ । चार हात मध्येमा दुई हातमा पुस्तक तथा माला रहेको छ भने दुई हात वीणामा रहेको छ । अगाडिको दुई हातले भौतिक संसारमा देवीको गतिविधी र पछाडीको हातले आध्यात्मिक संसारसँग सम्बन्धित भन्ने बुझाउँछ । दायाँ हातले मन मानस, बायाँ हातले बौद्धिकता, वातानुकूल चेतना, र अहंम बुझाउँछ । हातमा भएको मालाले जीवनमा एकाग्रता तथा ध्यानको संकेत गर्दछ भने बायाँ हातमा भएको पवित्र पुस्तक बेदलाई सर्वोच्च ज्ञानको रुपमा चित्रण गरिएको छ । अगाडिको हातमा रहेको विणा बजाईरहको दाहिने हातलाई मन तथा वायाँ हातलाई विद्धताको रुपमा लिइएको छ । जुन देवता वा देवीको जस्तो स्वभाव हुन्छ उनका सवार वाहनमा पनि त्यस्तै गुण रहेको हुन्छ भनिन्छ । धार्मिक ग्रन्थ अनुसार राजहाँसलाई सरस्वतीको वाहनको रुपमा लिइन्छ त्यसैले सरस्वती मातालाई हंस वाहिनी पनि भनिन्छ । हाँसलाई एक पवित्र चराको रुपमा चित्रण गरिएको छ, जस्ले मिसिएको दुध र पानीलाई अलग अलग रुपमा छुट्याउन सक्छ । यसलाई भेदभाव रहित शक्ति, निष्पक्षता, शुद्धता असल र खराबको बीचको भेदभाउ हटाउन सक्ने तथा ज्ञानको महत्वताको प्रतिकात्मक रुपमा लिइन्छ । माता सरस्वतीलाई ज्ञान, विद्या, विज्ञता, ललितकला, विज्ञान तथा प्रविधिकी देवीको रुपमा पनि मानिन्छ । साथै मातालाई अन्य विभिन्न नामले पनि सम्बोधन गरिन्छ । ऋग्वेदमा श्रृष्टिका सर्जक ब्रम्हाजीको मुखबाट उदय भएकी महासरस्वती सम्पूर्ण प्राणीहरु सबैलाई वाणी दिने भएकीले वाग्देवी अर्थात् वाणिका देवी, ब्रम्हाकी अर्धागिनी ब्रम्हायणी, ब्राम्हणी (विज्ञानकी देवी), भारदी (इतिहासकी देवी), वाणी तथा वाची (गीत, संगीत, स्वर माधुर्य तथा की देवी), बर्णेश्वरी (अक्षरकी देवी), कवि जिभार्गवभासिनि (जो कविहरुको जीब्रोमा बास गर्छिन) र यसका अलावा बागीश्वरी, कौमारी, चन्द्रघण्टा, शारदा, जगन्माता, बरदायिनी, बुद्धिदात्री आदि आदि विभिन्न नामले सम्बोधन गरिन्छ । पौराणिक कथा अनुसार जब ब्रम्हाजीले सारा संसारको श्रृष्टि गर्न थाले तब भगवान विष्णुको आज्ञा अनुसार अन्य जीवहरुको साथ मनुष्य योनिको रचना पनि गरे तर आफै सन्तुष्ट हुन सकेनन् ।

केही कमी भएको महशुस गरे । किनकी श्रृष्टि भए पनि जताततै शान्ति थियो मौनता थियो । यस्तो अवस्थादेखि ब्रÞमाजीले भगवान विष्णुको अनुमति लिएर कमण्डलुबाट जताततै जल छरे फलस्वरुप पृथ्वी कंपन भयो । बृक्षबाट एक अदभुत शक्ति एक चतुर्भज सुन्दर स्त्रीको उत्पत्ति भयो जस्को एक हातमा वीणा तथा अर्कोमा वर मुद्रा तथा अन्य दुई हातमा पुस्तक र माला थियो । ब्रÞमाजीले ती देवीसँग आफनो वीणा बजाउन अनुरोध गरे । जब वीणाबाट स्वर निस्कन थाल्यो ब्रÞमाजीले श्रृष्टि गरेका सम्पूर्ण जीव जन्तुहरुमा वाणी प्राप्त भयो । जताततै शव्दको प्रार्दुभाव भयो । ती देवीलाई ब्रÞमाले सरस्वती नाम दिए । यिनै सरस्वती देवीको कारणले संगीत उत्पत्ति भएकाले यिनलाई संगीतकी देवीको रुपमा पनि पुजिन्छ । आजको दिनलाई श्री पञ्चमी पनि भनिन्छ । श्री शब्द श्रेष्ठताको सूचक हो । श्रीपञ्चमी भन्नाले तिथिको आधारमा मनाइने चाड विशेष भन्ने बुझिन्छ । श्री पञ्चमीमा श्रीको अर्थ हुन्छ सरस्वती सम्पती, शोभा, कान्ति र पञ्चमीको अर्थ हुन्छ तिथि । त्यस्तै श्री भन्नाले विद्या, बुद्धि र वाणीकी अधिष्ठात्री सरस्वती बुझिन्छ । त्यसैले आजको दिनलाई सरस्वती जन्मोत्सवको रुपमा मनाइन्छ । आजको दिनबाट बसन्त ऋतुको प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई बसन्त पञ्चमी पनि भन्ने गरिएको हो भनिन्छ । आजबाट नै सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो हुँदै जाने र रात छोटो हुँदै जाने गर्दछ भनिन्छ । भौगोलिक अध्ययन अनुसार बाह्र वटा महिनाहरु भएपनि ऋतुहरुलाई दुई दुईवटा गरी छ वटामा विभाजन गरिएका छन् । बसन्त, गृष्म, वर्षा, शरद, शिशिर र हेमन्त । यी ऋतुहरुमा सबैलाई सबभन्दा बढी मन पर्ने वसन्त ऋतुलाई मानिन्छ । यद्यपि बसन्त ऋतुको औपचारिक आरम्भ चैत्र र बैशाख भएतापनि हरेक ऋतुको चालिस दिन अघिको समयलाई
गर्भकाल मानिन्छ ।

बसन्तको कुमारत्व यसै दिनबाट शुरु हुने भएकोले आजको दिनलाई बसन्त पञ्चमी भनिएको हो । यो समय यस ऋतुको यौवनकाल हो । वास्तवमाा ऋतु चक्र अनुसार माघ शुक्ल पञ्चमीबाट नै बसन्त ऋतुको आगमनको संकेत देखिन थाल्छ । बसन्त ऋतु एक नयाँ जीवनको शुरुवात । नयाँ पालुवा पलाउन थाल्छ, जताततै हरीयाली छाउन थाल्छ । बर्षाको अभावमा पनि लता, बृक्ष आदि रसिला भएर पल्लवित, पुष्पित र विकसित हुन थाल्छन् । रुख विरुवाहरुमा नयाँ पालुवाको आगमनले चारैतिर आनन्दको वातावरण बन्न जान्छ । सबैले प्रकृतिको सुमधुर रसबाट आनन्द र सुख प्राप्त गर्दछन् त्यसैले पनि यस ऋतुलाई बसन्त भनिएको हो । बसन्त ऋतु सम्बन्धी एक मिथक पुराणहरुमा पाइन्छ जस अनुसार ऋतुराज बसन्तलाई अन्य पाँच वटा ऋतुहरुले आफ्नो भागबाट आठ–आठ दिनको समय उपहार दिएकाले संसारलाई हराभरा बनाई खुसी बाँड्न आफ्नो नियत समय भन्दा ४० दिन अगाडि बसन्त ऋतुले पाइला टेक्ने विश्वास गरिन्छ । तसर्थ पनि यसलाई बसन्त पञ्चमी भनिन्छ । आजको दिन कामदेवको पनि विशेष पूजा गर्ने परम्परा रहिआएको छ । वेदमा कामलाई आदि सृष्टिको मूल मानिएको छ । कामदेवको बसोबास गर्ने उत्सव नै बसन्त हो । भनिन्छ सुन्दरता र प्रेमका देवता कामदेव र बसन्तको घनिष्ठ मित्रता छ । अतः बसन्त पञ्चमीमा ऋतुहरुका राजा बसन्त र उनका मित्र कामदेवको स्वागत र पूजाबाट शुरु गरिन्छ । बसन्त पञ्चमी श्रृंगार रसमा आधारित छ । आज पनि भारतको विभिन्न सहरहरुमा कामदेब र उन्की पत्नि रती तथा बसन्तको पूजा गर्ने गरिन्छ । कामदेब तथा उनका स्त्री रतीलाई बसन्तको प्रतीकको रुपमा स्मरण गरी कलाका साधकहरु बसन्त राग गाउँछन् । स्वस्थानी ब्रतकथामा भगवान शिबलाई समाधिष्ठबाट जगाउन कामदेवद्वारा हानिएको काम बाणबाट क्रोधित भई भगवान महादेवको तेश्रो आँखाबाट निस्केको ज्वालाबाट कामदेव भष्म भई खरानी भए पछि कामदेव पत्नी रतीद्वारा प्रायश्चित गरिएको चालिस दिन अवधि यही बसन्त पञ्चमी तथा होलीको वीचको भनिन्छ । बसन्त पञ्चमीले होली नजिकै आउँदैछ भन्ने संकेत पनि गर्दछ ।

आजको दिन तानसेन बजारमा अवस्थित दुईवटा सरस्वती मन्दिरमा विहानदेखि नै विद्यार्थी भाई बहिनीहरुको भीड लाग्दछ । अरु बेला सितिमिति नखोलिने श्री रण उजीरेश्वरी भगवती भगवती मन्दिर परिसरमा रहेको सरस्वती मन्दिर यस दिन खोलिन्छ । त्यस्तै गरी टुडिखेल तल रहेको एक प्रकारबाट उपेक्षित रहेको सरस्वती मन्दिरमा पनि विद्यार्थी भाइबहिनीहरु पूजा गर्न पुग्दछन । यी मन्दिरहरुमा कि त आजको दिन कि त दशैंको नवमीको दिन मात्र पूजा गरेको देखिन्छ अरुबेला कसैलाई वास्ता नै हुँदैन । टँुडिखेल तलको यो सरस्वती मन्दिर एकप्रकारले संरक्षणविहिन मन्दिर जस्तो छ । माओवादी द्वन्द भन्दा अगाडि तानसेन दरबारको गद्दी बैठकमा भएको राज प्रतिनिधिको प्रतिक तरवारलाई बाहिर ल्याई बसन्त श्रवण गराइन्थ्यो, सेनाले सलामी चढाउँथ्यो तर अहिले ति सबै एकादेशका कथा भैसकेको छ । किनकी द्वन्दमा सो तरवार जलेर खरानी भैसकेको छ । अहिले तानसेन भजन संरक्षण समितिले यस दिन विहान भगवती भन्दिर प्रांगणमा बसन्त रागमा आधारित भजनसम्म गाउने गरेको छ । संस्कृति संरक्षणमा स्थानीय निकाएको उदासिनता, अग्रजहरुको निधन, नयाँ पुस्तामा पुराना संस्कृति संरक्षण प्रतिको चासो नहुने कारणले गर्दा विस्तारै तानसेनका पुराणा संस्कृति लोप हुँदैछन् भन्न सकिन्न कुने दिन यी सबै एकदिन एकादेशको कथा हुनेछन । माता सरस्वतीले सबैेको कल्याण गरुन । अस्तु ।
(लेखक देउराली साँस्कृतिक अध्ययन प्रतिष्ठानका अध्यक्ष हुन् ।)

प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update