Shittalpati
बगनासकालीले बर्थिङ सेन्टर सहितको स्वास्थ्यचौकी भवन निर्माण गर्दै

रामचन्द्र रायमाझी
पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकाले आम नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बर्थिङ सेन्टर सहितका स्वास्थ्यचौकी भवन निर्माण गर्न थालेको छ । गाउँपालिका भित्र रहेका स्वास्थ्यचौकी भवनहरु आधुनिक र व्यवस्थित नहुँदा स्वास्थ्य सेवा प्रवाहमा असहज भइरहेका बेला गाउँपालिकाले आधुनिक भवन सहितका स्वास्थ्यचौकीहरु निर्माण गर्न लागेको हो ।

गाउँपालिका भित्र ९ वटा स्वास्थ्यचौकी रहेका छन् । ती मध्ये धेरै जसो स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सहितका भवन छैनन् । उपयुक्त भवन नहुँदा गाउँपालिकाले अहिले ३ वटा स्वास्थ्यचौकीबाट मात्र बर्थिङ सेन्टर सहितको सेवा प्रवाह गर्दै आएको छ । आगामी दिनमा सबै स्वास्थ्यचौकीहरुबाट बर्थिङ सेवा दिने गरी गाउँपालिकाले आधुनिक भवन निर्माण कार्यलाई अगाडि बढाएको हो । अहिले वडा १ चिर्तुधारा स्वास्थ्यचौकीको सुविधा सम्पन्न भवन निर्माणको कार्य अगाडि बढेको छ । गाउँपालिकाले आइतबार पुनःवडा ४ मा रहेको खानीछाप स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सहितको स्वास्थ्यचौकी भवन निर्माणको थालनी गरेको छ । गाउँपालिकाले संघीय सरकार समक्ष माग गरेको विशेष योजना मार्फतको एक करोड ४७ लाखको लागतमा उक्त भवन निर्माण हुन लागेको हो । भवन निर्माणको दिवा इन्जिनियरिङ कन्स्ट्रकसन प्रालि नवलपुरले जिम्मा लिएको छ । कम्पनीले चालु आर्थिक वर्षको असार मसान्त भित्र सक्ने गरी काम अगाडि बढाएको हो ।

भवनको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले एक औपचारिक कार्यक्रमका बिच शिलान्यास गरेका छन् । भवनको शिलान्यास गर्दै अध्यक्ष बस्यालले स्वास्थ्य क्षेत्रको विकासका लागि गाउँपालिका प्रतिवद्ध रहेको बताउँदै हरेक वडामा बर्थिङ सेन्टर स्थापना गर्ने गरी आफुहरु अगाडि बढेको बताए । उनले भने ‘जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर सुरुका दिनदेखि नै काम गर्दै आएका छौं, यहाँका महिलाहरुलाई सुत्केरी गराउनकै लागि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यतालाई हामी अन्त्य गर्दैछौं ।’ शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले जनताको स्वस्थ रहन पाउनुपर्ने अधिकारलाई गाउँपालिकाले आत्मसात गर्दै काम गरेको बताइन् । उनले सुविधा सम्पन्न स्वास्थ्यचौकी भवन निर्माण भएपछि यहाँका जनतालाई स्वास्थ्य सेवा लिन सहज हुनेमा विश्वास व्यक्त गरिन् । गाउँपालिका प्रवक्ता लक्ष्मी अधिकारीले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरेका छन् । स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी २४ सै घण्टा सेवा दिने गरी आधुनिक र सुविधा सम्पन्न भवन निर्माण हुने बताए । उनले प्राप्त भवन नहँदा स्वास्थ्य सेवा प्रवाहमा असज भएको स्थितीलाई ध्यानमा राखेर भवन निर्माणको थालनी गरिएको जानकारी दिए । कार्यक्रममा वडा अध्यक्ष हुतमानसिं दर्लामीले भवन निर्माण पछि यस क्षेत्रका नागरिकहरुलाई सहज हुने विश्वास व्यक्त गरे । इन्जिनियर पदम खड्काले भवन बर्थिङ सेन्टर निर्माण गर्न उपयुक्त हुने किसिमको हुने बताए । गाउँपालिकामा अहिले चापपानी स्वास्थ्यचौकी, नायर नम्तलेस स्वास्थ्यचौकी र खानीछाप स्वास्थ्यचौकी मार्फत बर्थिङ सेन्टर सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update