Shittalpati
पाल्पा र गुल्मीका १४ पालिकामा १५ शैयाको अस्पताल

रामचन्द्र रायमाझी
पाल्पा । पाल्पा र गुल्मीका १४ पालिकामा १५ शैयाको अस्पताल निर्माण हुन लागेका छन् । सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित अस्पताल नभएका स्थानीय तहमा अस्पताल निर्माण गर्ने नीतिअनुरुप पाल्पाका ३ र गुल्मीका ११ स्थानीय तह गरी १४ पालिकामा अस्पताल निर्माण हुन लागेका हुन् । सरकारले चालु आर्थिक वर्षमा गुल्मी र पाल्पाका १४ सहित ३ सय ९६ स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउने छ ।

ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले ५, १० र १५ शैयाका अस्पताल बन्ने छन् । पाल्पा र गुल्मीमा निर्माण हुन लागेका १४ पालिका मध्ये १२ वटा पालिकामा सोमबार अस्पतालको शिलान्यास गरिएको छ। माथागढी गाउँपालिकाको झडेवा स्वास्थ्य चौकी, पूर्वखोलाको वीरकोट स्वास्थ्य चौकी र निस्दीको मित्याल स्वास्थ्य चौकीमा १५÷१५ शैयाको अस्पतालको शिलान्यास गरिएको छ । अस्पताल निर्माणको लुम्बिनी प्रदेशका सांसदहरुले शिलान्यास गरेका छन् । पाल्पामा १० स्थानीय तह रहे पनि ३ वटा स्थानीय तहमा मात्र अस्पताल बन्न लागेको हो । माथागढीमा बन्न लागेको अस्पताल भवनको सोमबार लुम्बिनी प्रदेशका प्रदेश सांसद् नारायणप्रसाद आचार्यले शिलान्यास गरेको गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताए । निस्दीमा बन्न लागेको अस्पताल भवनको प्रदेश सांसद् युवराज खनाल र पूर्वखोलामा बन्न लागेको अस्पताल भवनको प्रदेश सांसद् नारायणप्रसाद आचार्यले शिलान्यास गरेका थिए । निर्माण कार्यको शिलान्यास गर्दै प्रदेश सांसदहरुले स्वास्थ्य क्षेत्रमा यो अभियानले ठूलो फड्को मार्ने विश्वास व्यक्त गरेका छन् । उनीहरुले अस्पताल निर्माण सरकारको भन्दा पनि नेपाली जनताको स्वास्थ्य रक्षाका लागि महत्वपूर्ण कार्यक्रम भएको उल्लेख गर्दै सबै स्थानीय तहले तोकिएको समयमै सफलतापूर्वक अस्पतालको निर्माण सम्पन्न गर्नेमा विश्वास व्यक्त गरे । माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले निर्माणाधीन अस्पताल गाउँपालिकाको गौरवको आयोजना भएको र समयमै निर्माण सम्पन्न गर्न आफु प्रतिवद्ध भएर लाग्ने बताए । उनले अस्पताललाई आधारभूत अस्पतालका रुपमा मात्र सीमित नराखी अन्य क्षेत्रका जनतालाई पनि गुणस्तरीय स्वास्थ्य सेवा दिने गरी काम गर्ने बताएका छन् । निस्दी र पूर्वखोला गाउँपालिकाका अध्यक्षद्धय मुक्तबहादुर सारु र नुनबहादुर थापाले अस्पताल निर्माण हुनु गाउँपालिकावासीका लागि खुशीको विषय भएको उल्लेख गर्दै अस्पताललाई सुविधा सम्पन्न बनाउन थप स्रोतको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उता गुल्मीका १२ स्थानीय तह मध्ये ११ वटा स्थानीय तहमा मात्र अस्पताल बन्ने छन् । सरकारले गुल्मीको मुसिकोट नगरपालिकाको वामी स्वास्थ्य चौकी, इस्मा गाउँपालिकाको दोहली स्वास्थ्य चौकी, कालीगण्डकी गाउँपालिकाको कालीगण्डकी स्वास्थ्य चौकी, गुल्मी दरवार गाउँपालिकाको गैडाकोट स्वास्थ्य चौकी, चन्द्रकोट गाउँपालिकाको शान्तिपुर स्वास्थ्य चौकी, छत्रकोट गाउँपालिकाको श्रृङ्गाप्रथामिक स्वास्थ्य केन्द्र, धुर्कोट गाउँपालिकाको धुर्कोट प्राथामिक स्वास्थ्य केन्द्र, मदानेको पुर्कोट दह स्वास्थ्य चौकी, मालिकाको अर्खावाङ्ग स्वास्थ्य चौकी, सत्यवतीको जोहाङ्ग प्राथामिक स्वास्थ्य केन्द्र र रुरु क्षेत्र गाउँपालिकाको रुरु प्राथामिक स्वास्थ्य केन्द्रमा १५/१५ शैयाको अस्पतालको निर्माण गर्न लागेको हो । अस्पताल निर्माण हुने स्थानीय तह मध्ये गुल्मीका ९ वटामा मात्र शिलान्यास गरिएको छ भने बाँकी २ वटा मालिका र चन्द्रकोट गाउँपालिकामा गर्ने तयारी रहेको छ । अस्पताल निर्माण हुन लागेका ३ सय ९६ स्थानीय तह मध्ये सोमबार २ सय ५० बढी स्थानीय तहमा अस्पताल निर्माणको शिलान्यास गरिएको छ ।

संघीय सरकारका मन्त्री, मुख्यमन्त्री, प्रदेश सकारका मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसद लगायतले उक्त स्थानीय तहमा अस्पताल निर्माणको शिलान्यास गरेका छन् । शिलान्यास हुन नसकेका स्थानीय तहले पनि चालु आर्थिक वर्षभित्रै अस्पताल निर्माण गर्नुपर्नेछ । सरकारले पाँच शैयाको अस्पताल निर्माण गर्न आठ करोड, १० शैयाको अस्पतालका लागि ११ करोड र १५ शैयाका अस्पताल निर्माणका लागि १८ करोड बजेट विनियोजन गरेको छ । ७५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न लागिएको हो । लुम्बिनी प्रदेशका ६० स्थानीय तहमा अस्पताल निर्माण गरिने छ । सरकारले अस्पताल निर्माणका लागि पहिलो किस्ता सम्बन्धित स्थानीय तहमा पठाइसकेको छ । सरकारले पहिलो चरणमा ३ सय ९६ स्थानीय तहलाई पाँचदेखि १५ शैयाको अस्पताल बनाउन ६४ अर्ब नौ करोड पठाइसकेको छ । अस्पताल निर्माणको सम्पूर्ण काम स्थानीय तहले आफैले गर्ने छन् । सरकारले पालिकामा रहेका पुराना स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र लगायत स्थान र पूर्वाधारलाई छानेर अस्पताल बनाउने तयारी गरेको हो ।

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update