Shittalpati
थप एक हजार नौं सय ३१ संक्रमित निको

पाल्पा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार नौ सय ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । सोमबार देशका विभिन्न स्थानका अस्पतालबाट एक हजार नौ सय ३१ जना संक्रमित निको भएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख १४ हजार ५ सय २१ पुगेको छ । यस्तै बितेको २४ घण्टामा देशभर थप एक हजार ४ सय ७४ जना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ । नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा थप २९ जनाले संक्रमणकै कारण ज्यान गुमाएका हुन् ।

अब देशभर १७ हजार ४ सय २३ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ९ सय ११ जनाको परीक्षण भएसँगै कुल परीक्षण संख्या १७ लाख ३७ हजार ७४७ पुगेको छ । यस्तै नेपालमा सोमबारसम्म ३ सय ७५ जनाको आइसीयू र ५८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । आइसीयूमा उपचार गराइरहेका मध्ये सबैभन्दा बढी १ सय ५९ जना बागमती प्रदेशका छन् । त्यसपछि गण्डकी प्रदेशमा ९४ जनाको आइसीयुमा उपचार भइरहेको छ । यस्तै लुम्बिनी प्रदेशमा ७२ जना, प्रदेश १ मा ३२ जना, कर्णाली प्रदेशमा ९ जना, सुदूरपश्चिम प्रदेशमा ५ जना र प्रदेश २ मा ४ जनाको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै भेन्टिलेटरमा उपचार गराइरहेका मध्ये बागमती प्रदेशका बढी छन् । ३५ जना बागमती प्रदेशका, गण्डकीका ११ जना, प्रदेश १ का ६ जना,लुम्बिनी प्रदेशका ३ जना, प्रदेश २ मा १ जना र सुदूरपश्चिम प्रदेशका २ जना कोरोनाका बिरामीको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update