Shittalpati
पाल्पाका थप ६७ जना संक्रमितले कोरोना जिते

पाल्पा । पाल्पामा थप ६७ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई शनिबार प्राप्त भएको विहीबार, शुक्रबार र शनिबारको विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ६७ जना संक्रमितले कोरोना जितेका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका तथा नगर भित्र रहेका अस्पतालका ४६ जना संक्रमितले कोरोना जितेका छन् । यस्तै माथागढीका २ जना, रामपुरका ७ जना, पूर्वखोलाका ३ जना, रैनादेवी छहराका ३ जना, रम्भाका २ जना, बगनासकालीका २, तिनाउका १ जना र रिब्दीकोटका १ जना कोरोना संक्रमणमुक्त भएका हुन् । योसंगै पाल्पामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ३ सय ४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैगरी पाल्पामा तीन दिनको अवधिमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तानसेन नगरपालिका र अस्पतालका १६ जना, रामपुर नगरपालिका २ जना, पूर्वखोलाका ६ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका ७ जना, तिनाउ गाउँपालिकाका १ जना र रिब्दीकोट गाउँपालिकाका ४ जनामा संक्रमण देखिएको हो । योसँगै पाल्पामा एक हजार ५ सय ४७ जना कोरोना संक्रमित पुगेका छन् ।

यस्तै कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । शुक्रबार स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार बगनासकाली गाउँपालिका १ की ६९ वर्षीया महिलाको निधन भएको हो । उनको लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको बताइएको छ । योसँगै पाल्पामा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या २ सय २१ पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म ८ सय २७ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ७७ जना स्वास्थ्यकर्मी रहेका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update