Shittalpati
पाल्पामा शुक्रबार एक कोरोना संक्रमितको मृत्यु, १८ जनामा संक्रमण पुष्टि

पाल्पा । पाल्पामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका २ का ७२ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो । निमोनिया र मृगौलाबाट ग्रसित उनी होम आईसोलेसनमा बस्दै आएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । ति पुरुषको दुई पटक कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । योसंगै पाल्पामा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाल्पामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शुक्रबार प्राप्त विवरण अनुसार १४ जना पुरुष र ४ जना महिलामा संक्रमण पुष्टि भएको हो । तानसेनस्थित काजिपौवामा रहेको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा माथागढीका १ जना, रामपुरका १ जना, रैनादेवी छहराका २ जना, निस्दीका २ जना र तानसेनका १२ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसंगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार ३ सय ४४ पुगेको
छ ।

जिल्लामा अहिलेसम्म एक हजार ९४ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या २ सय ३६ पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म ६ सय ३४ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ७१ जना स्वास्थ्यकर्मी रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update