Shittalpati
पाल्पामा बुधबार थप १२ जना कोरोनामुक्त, २२ जनामा संक्रमण पुष्टि

पाल्पा । पाल्पामा बुधबार थप १२ जना कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई प्राप्त विवरण अनुसार माथागढीका १ जना, रामपुर नगरपालिकाका २ जना, रम्भा गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका २ जना, रिब्दीकोट गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका ५ जना संक्रमणमुक्त भएका हुन् ।

कोरोना जितेकाहरु विभिन्न आइसोलेशन र होमआइसोलेशनमा रहेका पुरुष तथा महिलाहरु रहेका छन् । तोकिएको मापदण्ड पूरा गरेर १४ दिन होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेकाहरुले कोरोनालाई जितेर घर फर्किएका हुन् । योसँगै पाल्पामा कोरोना निको हुनेको संख्या एक हजार ९४ पुगेको छ ।

यस्तै बुधबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ जना पुरुष र १५ जना महिलामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार माथागढीका २, रामपुरका ३ र तानसेनका १७ जनामा कोरोना पुष्टि भएको छ । योसंगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार ३ सय ११ पुगेको छ । पाल्पामा अहिलेसम्म १३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या २ सय ४ पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म ६ सय १ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ६७ जना स्वास्थ्यकर्मी रहेका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update