Shittalpati
पाल्पामा शनिबार थप ६१ जना कोरोनामुक्त

पाल्पा । पाल्पामा शनिबार थप ६१ जना कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शनिबार प्राप्त विवरण अनुसार माथागढीका ६ जना, रामपुर नगरपालिकाका २ जना, पूर्वखोला गाउँपालिकाका २२ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका ३ जना, तिनाउ गाउँपालिकाका २ जना, रिब्दीकोट गाउँपालिकाका ३ जना र तानसेन नगरपालिकाका २१ जना संक्रमणमुक्त भएका हुन् ।

कोरोना जितेकाहरु विभिन्न आइसोलेशन र होमआइसोलेशनमा रहेका पुरुष तथा महिलाहरु रहेका छन् । तोकिएको मापदण्ड पूरा गरेर १४ दिन होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेकाहरुले कोरोनालाई जितेर घर फर्किएका हुन् । योसँगै पाल्पामा कोरोना निको हुनेको संख्या एक हजार ६९ पुगेको छ ।

यस्तै शनिबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २६ जना पुरुष र १० जना महिलामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार माथागढीका १, रामपुरका २, पूर्वखोलाका १, रैनादेवी छहराका ४, रम्भाका १ जना, तिनाउका २ जना, र तानसेनका २४ जनामा कोरोना पुष्टि भएको छ । योसंगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार २ सय ४३ पुगेको छ । पाल्पामा अहिलेसम्म १३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या १ सय ८१ पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म ५ सय ३३ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ६४ जना स्वास्थ्यकर्मी रहेका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update