Shittalpati
पाल्पाका दुई पुरुषको मृत्युपछि कोरोना पुष्टि

पाल्पा । जिल्लामा मृत्यु भएपछि दुई पुरुषको कोरोना संक्रमण पुष्टि भएको छ । तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारत दुई पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको हो । माथागढी गाउँपालिका र तिनाउ गाउँपालिकाका दुई जना पुरुषको विहिबार कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

माथागढी गाउँपालिका–२ रुप्सेका ६६ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार मृत्यु भएको हो । गत सोमबार मुखमा घाउँ भएर अस्पताल पुगेका ति पुरुषको कोरोना लक्षण देखिएपछि अस्पतालले स्वाब संकलन गरेर पठाएको थियो । मृतक पुरुषको विहिबार मात्र कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी जीवन भट्टराईले बताए ।

यस्तै तिनाउ गाउँपालिकाका ४४ वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ । तिनाउ गाउँपालिका ६ डुम्रेका पुरुषको बुधबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । ति पुरुषको युनाइटेड मिसन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको हो । निमोनियाका कारण श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका ति पुरुषको विहिबार मात्र कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पन्थीले बताए । योसँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update