Shittalpati
धरौटी शुल्क नलिइ कोरोना संक्रमितको उपचार गर्न सरकारको निर्देशन

पाल्पा । धरौटी शुल्क नलिई कोरोना सक्रमितको उपचार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार मन्त्रालयको कोरोना ब्रिफिङमा धरौटी रकम नलिइ उपचार गर्न निर्देशन दिएको बताए । उनले सक्नेसँग शुल्क लिने र नसक्नेलाई निशुल्क उपचार गर्ने सरकारको निर्णय रहेको बताए । यस्तै डा.गौतमले होम आइसोलेसनमा बसेका संक्रमितको सरसल्लाह, रिफर, तथा अनुगमन गर्ने कार्य पालिकाहरुको भएकाले उक्त कार्य तदारुकताका साथ सम्पन्न गर्न सबै ७५३ पालिकालाई निर्देशन दिएको समेत जानकारी गराए । कतिपय अस्पतालहरुले धरौटीसम्बन्धी सूचना निकालेको भन्दै विरोध भइरहेका बेला प्रवक्ता गौतमले धरौटीसम्बन्धी सूचना निकाल्ने अस्पतालहरुलाई स्पष्टीकरण सोधिसकेको बताए । उनले नसक्नेहरुका लागि स्वघोषणाको आधारमै निःशुल्क उपचार गराउन यसअघि नै दिएको निर्देशन यथावत् रहेको जानकारी दिए ।

सरकारले कात्तिक २ गतेदेखि लागू हुने गरी कोरोना उपचार र परीक्षणका लागि आफैं शुल्क व्यहोर्नुपर्ने निर्णय सार्वजनिक गरेको थियो । यो निर्णय पश्चात सरकारी अस्पतालहरुले धरौटी शुल्कसहितको सूचना प्रकाशित गरेका थिए । आर्थिक रुपमा विपन्‍न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपांगता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मी लगायतको मात्रै सरकारले परीक्षण र उपचार गर्ने बताएको छ । मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु भएका व्यक्तिको एकिन संख्या पत्ता लगाउन तीन सदस्यीय समिति समेत गठन गरेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update