
पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिका भित्रिने सबैजनाले कोरोना पिसिआर टेस्ट रिपोर्ट अनिवार्य ल्याउनु पर्ने भएको छ । गाउँ सरकारले भारत लगायत विदेशी मुलुक तथा देश भित्रका कोरोना जोखिम स्थानहरुबाट आउँदा पिसिआर रिपोर्ट अनिवार्य गराएसँगै गाउँपालिका प्रवेश गर्नेले पिसीआर अनिवार्य गर्नुपर्ने भएको हो । पछिल्लो समय कोरोना संक्रमण मात्र नभई लक्षणसहितका संक्रमित बढ्न थालेपछि गाउँपालिकाले प्रवेश गर्ने जोकोही व्यक्तिले पिसिआर टेस्टको रिपोर्ट अनिवार्य देखाउनुपर्ने निर्णय गरेको जनाएको छ ।
गाउँकार्यपालिकाको आइतबार बसेको बैठकले ७० घण्टाभित्रको पिसिआर नेगेटिभ रिपोर्ट सम्बन्धित वडाध्यक्षलाई बुझाएर मात्र आउन पाउने नियम बनाएको हो । त्यस्तै गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवाहरू पनि बन्द गरिएको जनाएको छ । समुदायस्तरमा कोरोना भाइरस संक्रमण बढ्दै गएको औंल्याउँदै कार्तिक ३ गते सोमबारदेखि ६ गते शुक्रबार राती १२ः०० बजेसम्मका लागि गाउँपालिका भित्र अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । गाउँपालिकाले ६ गतेसम्मका लागि पालिकाको वडा कार्यालय, ९ वटै वडा कार्यालयहरू, शैक्षिक संस्थाहरूमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जानकारी दिएको छ ।
गाउँ कार्यपालिकाको आकस्मिक बैठकले यस्तो निर्णय गरेको प्रवक्ता लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गुनाराम खनालले शैक्षिक संस्थाहरू, स्वास्थ्य र सहकारी संस्थाहरूको अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने गराउने, विजया दशमी २०७७ को अवसरमा विदेश तथा बाहिरी जिल्लाबाट आउने व्यक्तिहरूलाई ७२ घण्टा भित्रको पिसिआर नेगेटिभ रिपोर्ट लिएर सम्बन्धित वडा अध्यक्षलाई बुझाएर मात्र आउन पाउने र कडाइका साथ होम क्वारेन्टाइन बस्ने तथा बगनासकाली गाउँपालिका भित्रका उद्योग, पसल, होटलहरू र सवारी साधनमा स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरू अनिवार्य रूपमा पूरा गर्नुपर्ने निर्णय भएको जानकारी दिए । यस्तैगरी कोरोना पोजेटिभ होम आइसोलेसनमा बस्ने व्यक्तिहरूलाई प्रति व्यक्ति प्रतिदिन ४ सयका दरले पौष्टिक आहार वापतको सुविधा उपलब्ध गराउँदै आएकोमा सो सुविधा कार्तिक २ गतेदेखि बैठकबाट खारेज गर्ने निर्णय गरिएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए । उनका अनुसार पछिल्लो समय गाउँपालिकाबाट २७ जनाको पिसिआर लिइएकोमा १८ जनामा पोजेटिभ रिपोर्ट आएको र १ जना आफैं अस्पताल गएर स्वाव दिँदा पोजेटिभ रिपोर्ट आएको थियो ।