Shittalpati
बुटवलमा एकै दिन तीन कोरोना संक्रमितको मृत्यु

बुटवल । बुटवलमा कोरोना संक्रमितको एकै दिन तीन जनाको मृत्यु भएको छ । आइतबार अस्पतालका कोरोना संक्रमितको उपचारका लागि सघन उपचार कक्षको अभाव हुँदा एक संक्रमितको मृत्यु भएको छ । अर्को एकको उपचारका लागि बुटवल बाहिर लैजाँदै गर्दा बाटामा मृत्यु भएको छ । बुटवलको संक्रमितको उपचारका लागि सघन उपचार कक्ष नपाइएका दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा लैजाँदै गर्दा आइतबार बिहान बाटैमा मृत्यु भएको हो । बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनी लामो समयदेखि मुटु रोगको समस्याले पीडित रहेको जनाइएको छ । कोरोना संक्रमित बुटवल–११ की ६१ वर्षीया महिलाको उपचारका क्रममा आइतबार बिहान करिब २ बजे कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको हो । बुधबार कोरोना विशेष अस्पतालको कक्षमा भर्ना भएकी संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । श्वासप्रश्वासको समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । बुटवल–१ का ७० वर्षीय पुरुषको गए राति १० बजे कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । शनिबार अस्पताल भर्ना भएका उनमा यही असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । –रासस

प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update