Shittalpati
श्रीनगर रेडक्रसले दियो गृहणीलाई मनोसामाजिक प्राथमिक उपचार तालिम

पाल्पा । तानसेनको सामाजिक क्षेत्रमा क्रियाशिल नेपाल रेडक्रस सोसाईटी श्रीनगर उपशाखाले गृहणीहरुलाई मनोसामाजिक प्राथमिक उपचार तालिम दिएको छ । उपशाखाले रेडक्रस पाल्पाको स्वर्ण महोत्सव र विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा उपशाखा मातहत रहेको बसन्तपुर क्षेत्रका १८ जना गृहणी महिलाहरुलाई मनोसमाजिक प्राथमिक उपचार तालिम दिएको हो ।

तालिमको प्रमुख अतिथि नेपाल रेडक्रस पाल्पा शाखाका सभापति बुद्धिप्रसाद शर्माले उपशाखाले अनुकरणीय कार्य गरेकोमा धन्यवाद दिए । उनले तालिमले गृहणी महिलाहरुलाई मानसिक स्वास्थ्यप्रति उत्प्रेरित, सुसुचित एवं सचेत बनाउन महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।

तालिममा नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाका कार्यकारी अधिकृत तथा प्रशिक्षक बाबुराम कार्की, श्रीनगर उपशाखाका सभापति पुष्करराज रेग्मी, रेडक्रस पाल्पा शाखाका कार्यक्रम अधिकृत विनोद भारती लगायतले रक्तश्राव, क्षोव, बेहोसी, पोलाई, भचाई, मकाई, योग लगायतका विषयमा तालिम दिएका थिए । उपशाखाका सभापति पुष्करराज रेग्मीको अध्यक्षता, कोषाध्यक्ष सरस्वती भट्टराईको स्वागत, प्रशिक्षक विनोद भारतीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, असोज २४, २०७७  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update