Shittalpati
जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि निस्दीमा बन्द, रामपुरमा तयारी

पाल्पा । जनप्रतिनिधि र कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि जिल्लाको निस्दी गाउँपालिका बन्द गरिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी सहित १० जनामा कोरोना देखिएपछि शुक्रबार राति १२ बजेदेखि कात्तिक १ गते राति १२ बजेसम्मका लागि अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु, प्रमुख प्रशासकिय अधिकृत भगवान भक्त अर्याल सहित कर्मचारी र भारतबाट आइ क्वरेन्टाइनमा रहेका नागरिकहरुको रिपोर्ट पोजेटिभ आएपछि गाउँपालिका मातहतका कार्यालय, बैंक, वित्तिय संस्था, शैक्षिक संस्था,गैरसरकारी संघसंस्थाहरु, होटल व्यवसायी, निजी तथा सार्वजनिक सवारी साधनहरु पूर्णरुपमा बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले २१ गते क्वारेन्टाईनमा रहेका, फ्रन्टलाईनमा खटिएका तथा लक्षण देखिएका ५० जनाको स्वाव संकलन गरी पाल्पा अस्पतालमा सञ्चालित कोभिड १९ प्रयोगशालामा पठाएको थियो । जसमा गाउँपालिका अध्यक्ष र प्रशासकिय अधिकृत तथा केही कर्मचारी र सर्वसाधारणहरू गरी जम्मा १० जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

यसैगरी रामपुरमा कोरोना सङ्क्रमण देखिएपछि एक हप्तासम्मका लागि नगरपालिका बन्द गरिने तयारी भएको छ । रामपुर अस्पतालमा कार्यरत २८ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि आज राति १२ बजेदेखि यही असोज ३० गते राति १२ बजेसम्मका लागि नगरपालिकामा आवतजावत, व्यापार, व्यवसाय, उद्योग कलकारखाना, सवारी साधन सञ्चालनमा रोक लगाइने नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिए । यसैगरी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि रामपुर अस्पतालले आकस्मिकबाहेकका अन्य सेवा बन्द गरेको छ । शुक्रबार अस्पतालमा कार्यरत २८ जना स्वास्थ्यकर्मीको कोरोना रिपोर्ट पोजेटिभ आएपछि अर्को सूचना जारी नगर्दासम्मका लागि अतिआवश्यक बाहेकका सेवा बन्द गरिएको अस्पताले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज २४, २०७७  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update