Shittalpati
एकै दिन १९ सय ११ संक्रमित, ९ सय ६१ डिस्चार्ज

पाल्पा । पछिल्लो २४ घण्टामा नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी १९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित कोरोना मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्मकै उच्च १९ सय ११ जनामा कोरोना पुष्टि भएको बताएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७९ हजार ७ सय २८ पुगेको छ । त्यस्तै २४ घण्टामा ९ सय ६१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ५७ हजार ३ सय ८९ पुगेको छ । यो कुल संक्रमितको ७१ दशमलव ९ प्रतिशत हो । काठमाडौं उपत्यकामा मात्र ९ सय४३ जनामा संक्रमण पुष्टि भएको छ । अहिले नेपालमा २ सय २० जना संक्रमितको आईसीयूमा उपचार भइराखेको छ । मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा अहिले पाँच सयमाथि सक्रिय संक्रमित रहेका छन् भने मनाङ, मुस्ताङ, डोल्पा र मुगुमा संक्रमितको संख्या शून्य छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या ५० सय ९ पुगेको हो । पछिल्लो २४ घण्टामा एक महिलासहित १० पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीका तीनजना ५६, ५० र २७ वर्षीय पुरुष रहेका छन् । त्यसैगरी काठमाडौं उपत्यकामा चार जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंका दुई ७८ र ६८ वर्षीय पुरुष, भक्तपुरका ६८ र ललितपुरका ४८ वर्षीय पुरुषको मृत्यु भएको हो । त्यसैगरी रुपन्देहीका तीन जनाको मृत्यु भएको छ । रुपन्देहीमा मृत्यु हुनेमा ८०, ५५ र ४२ वर्षीय पुरुष रहेका छन् । बाँकेकी ३४ वर्षीया महिलाको समेत मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म पिसिआर विधिबाट १० लाख ३३ हजार ९ सय ४७ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १२ हजार ४ सय ४४ पिसिआर परीक्षण भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update