Shittalpati
नेपालमा थप ७ सय ४२ संक्रमित निको भए

पाल्पा । नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ४२ कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशका विभिन्न जिल्लाका ७ सय ४२ संक्रमितले कोरोना जितेको बताए । यससँगै नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या ५४ हजार नाघेको छ । नेपालमा सोमबारसम्म कोरोनाबाट निको हुनेहरुको संख्या ५४ हजार ६ सय ४० पुगेको मन्त्रालयका प्रवक्ता गौतमले बताएका छन् । आइतबार नेपालमा कोरोनाबाट ८ सय ८५ जना निको भएका थिए ।

यस्तै पछिल्लो २४ घण्टामा १३ सय ५१ जनामा कोरोना भाइरस (कोभिड –१९) संक्रमण देखिएको छ । यो सहित संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ । हाल सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार ६ सय २४ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार ६ सय ९५ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ९ सय २९ जना छन् । २४ घण्टामा चार जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा सुनसरीकी ३८ वर्षीया महिला, भक्तपुरकी ५१ वर्षाीया महिला, बाँकेका ४७ वर्षीय पुरुष र गुल्मीका ३४ वर्षीय पुरुष रहेका छन् ।

प्रकाशित मिति: सोमबार, असोज १२, २०७७  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update