Shittalpati
कुशे औँसीसँग गासिएको पितृ दिवस

आज कुशे औँसी अर्थात गोकर्ण औंसी तथा आजै पितृ दिवस अर्थात बाबुको मुख हेर्ने दिन । यो औंसीसँग कसरी पितृ दिवस गासिएको छ त यस बारे चर्चा गरौं । कुश धार्मिक तथा आध्यात्मिक दृष्टिकोणले पवित्र मानिएको एक प्रकारको वनस्पति अर्थात झार । कुश हिन्दू संस्कार अनुसार प्रत्येक शुभकार्य जस्तो देवकार्य, पितृकार्य वा अन्य त्यस्तै सबै धार्मिक कार्यमा यो नभई हुँदैन । सनातन धर्ममा मानिसको जन्मदेखि मृत्युसम्म प्रत्येक धार्मिक कार्यमा अनिवार्य रुपमा चाहिने पवित्र घाँस अर्थात् कुशलाई मन्त्रपूर्वक छेदन गरी घर–घरमा भित्र्याउने गरिन्छ । कुशलाई जतिबेला पनि काट्न हुँदैन एउटा निश्चित दिन अर्थात् वर्षको एकदिन भाद्र कृष्णऔंसीको दिन मात्र काटिन्छ र कुश काटेपछि पुनः अर्को कुश रोप्नु पर्छ भनिन्छ । त्यसैले श्रावण शुक्ल चतुर्दशीका दिन रोपिन्छ । यसरी काटने र रोप्ने कामले एकातिर सो वनस्पतिको संरक्षण हुन्छ भने अर्कोतिर वातावरणलाई टेवा पुगेका बताइन्छ ।

भनिन्छ कुशे औंसीमा काटिएको कुश वर्षभरि नै प्रयोग गर्न सकिन्छ । कुशेऔंसी मनाउने क्रममा सम्बन्धित पुरोहितहरुले कुश काटी आफ्नो घरमा भित्राइसके पछि आफ्ना यजमानहरुको घर–घरमा लिएर जाने गर्दछन् । भाद्रकष्ण अमावस्याको तिथिलाई कुशे औंसीको रुपमा मनाइन्छ । हरेक महिनाका दुई पक्ष हुन्छन् । कृष्णपक्ष र शुक्लपक्ष । शुक्लपक्ष देवीदेवताको उपासनाको लागि तथा कृष्णपक्ष पितृहरुको उपासनाको लागि । भनिन्छ औंसीको दिन चन्द्रमा र सूर्य संगमस्थलमा रहन्छन त्यसैले यो दिन अरु दिनहरु भन्दा बढी महत्वको हुन्छ । त्यसमध्ये पनि भाद्र कृष्णपक्षको औंसीलाई बढी महत्व दिने गरेको पाइन्छ । यसदिन कुशको उच्छेदन गरिन्छ । औंसीको रातको स्वामी पितृलाई मानिएको छ । यो आंैंसी कुशसंग सम्बन्धित भएकोले यसलाई कुशे आंैसी भनिएको भनिन्छ । कुनै पनि देवकार्य वा दान होम जप आदि पितृकार्य गर्दा शुरुमा कर्मपात्र बनाई पवित्राकारमा बनाइएको कुशको औंठी मोटक चोर औंलामा लगाउने परम्परा छ । कर्मपात्र निर्माण गर्दा कुश निर्मित पवित्र कर्मपात्रमा हाल्नुपर्छ भने पवित्रताको लागि जल छर्कदा पनि कुशको प्रयोग गरिन्छ । ऋषि पञ्चमीको दिन नारीहरुले अरुन्धतिसंग सप्तर्षिको पूजा कुशकै टुक्रालाई प्र्रतिक मानी गर्दछन् । कसैको प्राणान्त हुन लागेको छ भने कुश विछयाएर लेटाइन्छ भने कसैको पञ्चक परेको बेला मृत्यु भएमा त्यस्को दोष निवारण तथा शान्तिका लागि अन्य बस्तुका साथ कुशद्वारा तयार पारिएको पाँच वटा पुतला लाशको साथ जलाइन्छ । कुशको उत्पति बारे धेरै पुराण कथाहरु पाइन्छन् । जलमा डुबेको पृथ्वीको उद्दार गर्न भगवान विष्णुको तेश्रो अवतार वराहको रुपमा दैत्यराज हिरण्याक्षको बध गरिसकेपछि विश्रामको लागि समुद्र किनारमा आराम गर्नु भएको बेला विष्णुको टाउँकोबाट झरेको रौं नै कुश भएर उम्रिएको भनिन्छ । त्यस्तै गरी अर्को प्रसंग स्वस्थानी ब्रत कथा अनुसार माता पार्वती माथि जालन्धरले कुदृष्टि लगाएकोले उनलाई मार्न विष्णुले बृन्दाको सतित्व भंग गर्नु पर्यो । पतिभक्त बृन्दाको सतित्वको प्रभावले उनको पति जालन्धरलाई मार्नु असम्भव थियो । अत जालन्धरको छदम बेश गरी बृन्दाको सतित्व भंग गर्नु विष्णु बाध्य भए । यसरी एकातिर बृन्दाको पचिब्रता धर्म नष्ट भयो भने उता जालन्धरको मारिए ।

आफु छदमबेशी विष्णुबाट छलिएको थाहा पाएपछि क्रुद्ध बनेकी वृन्दाले विष्णुलाई घाँस, झार, रुख र ढुंगा हुनु परोस भनेर चारवटा श्राप दिइन् । पतिब्रता सतिले दिएको श्रापले गर्दा विष्णुलाई त्यो श्राप लाग्यो । त्यसैको प्रतिफल स्वरुप विष्णुलाई झाररुपमा तुलसी, वृक्षरुपमा पीपल, शिलारुपमा शालिग्राम, र घाँस रुपमा कुश हुन परेको हो भनिन्छ । अतः कुशलाई विष्णुको रुप मानी देव तथा पितृकार्यमा कुशको प्रयोग भएको मानिन्छ । यस दिन आफ्ना मृत पिताको सम्झना र शान्तिका लागि श्रद्धालुहरु गोकर्ण तीर्थमा गई स्नान दान गर्ने गोकर्णेश्वरको मन्दिरमा गई श्री महादेवको पूजा गरेर मृत पितालाई पिण्डदान गरिने हुदा कुशे औंसीलाई गोकर्ण औंसी पनि भन्ने गरिन्छ । यस दिन गोकर्णेश्वरमा मेला पनि लाग्दछ । गोकर्णेस्वर शिवको एक नाम हो । यसको उत्पत्ति बारे धार्मिक ग्रन्थ हिमवत्खण्डमा उल्लेख भएको छ । पौराणिक ग्रन्थ अनुसार मृगरुपी शिवजीको आज्ञाले ब्रÞमाजीले शिवको अंशबाट गोकर्णेश्वरको स्थापना गरेका थिए । यस सन्दर्भमा रोचक धार्मिक कथा पनि जोडिएको छ । एकदिन शिवजी पशुयोेनिमा जन्म लिई मृगको रुपमा घुमिरहेका थिए । धेरै समय वित्दा पनि शिवजीको कतै पत्तो नलागेकोले दुखी भएका ब्रÞमा, विष्ण, इन्द्रादि देवताहरु शिवजी कहाँ हुनुहुन्छ भनि खोजीमा यताउति घुमिरहेका बखत आकाशवाणीबाट शिवजी मृगरुप धारण गरी विचरण गरिरहेको कुराको जानकारी पाए । तब ब्रÞमा, विष्णु, तथा इन्द्रादि देवताहरु शिवरुप मृग भएकै ठाउमा पुगे । त्यसै बेला एक मात्र सिंग भएको अत्यन्त राम्रो मृगलाई देखेर अवश्यमेव यही शिव हो भनी हतपत ब्रÞमा, विष्णु तथा इन्द्रले मृगको सिंग समात्न पुग्दा सिंग भाचिएर तीन टुक्रा भयो । यसले गर्दा देवताहरु अनर्थ भयो भनी चिन्ता गरिरहेको बेला आकाशवाणीको रुपमा शिवजीले भन्नु भयो हे ब्रÞमादि देवता हो मेरो यो सिंग आकाश पाताल तथा मृत्यलोकमा स्थापना गर्नु त्यसबाट ठूलो पूण्य मिल्नेछ । महादेवको यस्तो आज्ञा अनुसार भाद्र कृष्ण चतुर्दशीको दिन ब्रÞमाजीले आफ्नो हातमा रहेको सिंग गोकर्ण भन्ने ठाउँमा स्थापना गर्नुभयो । यसरी गोकर्ण औंसीको सम्बन्ध गोकर्णेश्वर महादेवको मन्दिरसंग रहेको छ । गोकर्णेश्वर महादेवको मन्दिर काठमाण्डौँबाट सात किलोमिटर उत्तर पूर्व बाग्मती नदीको तीरमा रहेको छ । काठमाडांै वरिपरीबाट गोकर्ण औंसीको दिन पिताको मृत्यु भईसकेका सन्तानहरुले यहाँ आई स्नान दान गरी दिवंगत पितृहरुलाई मोक्ष र शान्ति दिलाउन तथा उनीहरुको आत्माको तुष्टिको लागि श्रद्धाञ्जली स्वरुप तर्पण दिने, श्राद्ध गर्ने, पिण्डदान गर्ने गर्दछन् र भगवान शिवको आराधना पूजा गर्दछन् । यसरी भगवान शिवको आराधना गर्दा एकातिर आत्मकल्याण हुनुका साथै अर्कोतिर पितृहरु तृप्त हुन्छन् भन्ने जनविश्वास रहेको छ । शास्त्रमा भनिएको छ पुत्रको परम धर्म भनेको आफ्ना दिवंगत पितृको उद्दार गर्नु हो । जो पुत्र पितृको उद्दार नगरी केवल आफ्नो सुखोपभोगमा मात्र लाग्दछ त्यो घोर नरकमा पर्दछ । उद्दार भनेको मरेपछि शास्त्रोक्त विधिले गरिने कार्य प्रत्येक वर्ष सम्बद्ध तिथिमा गरिने तर्पण, श्राद्ध आदि विधिद्वारा पितृलाई तृप्त गराउने हो । काठमाडांै उपत्यका बाहिरका सन्तानहरुले आफ्नो सुविधा अनुसार देवघाट, गण्डकी, कोशी आदि पवित्र नदीहरुमा गई कार्य सम्पादन गर्दछन् ।

पाल्पामा पनि मानिसहरु कोही रिडी, कोही राम्दी तथा कोही रानीघाट पुगी यस्ता पूण्य कार्य गर्दछन् । यताउता जान नसक्नेहरु घरैमा पनि आफ्ना पुरोहितहरुद्वारा श्राद्ध आदि गर्दछन् । यसरी भाद्र कृष्ण औंसी पिता तथा पूर्वजहरु प्रति श्रद्धा र आदर प्रकट गर्ने दिनका रुपमा प्रशिद्ध भएको छ । यो दिन नेपाली समाजमा परम्परा अनुसार बाबुको मुख हेर्ने दिनका रुपमा समेत प्रशिद्ध छ । आफ्ना दिवंगत पितृहरुलाई सम्झेर विभिन्न पुण्य कार्य गरिन्छ भने आफना जीवित पितालाई त झन् सक्दो सम्मान गर्नु त प्रत्येक सन्तानहरुको कर्तव्य नै हुन आउँछ । त्यसैले आफूलाई जन्म दिने आमा बाबुको सन्तुष्टिका लागि कुनै चिरस्थायी सम्मानको भावना जागृत गर्नु नै यसको पवित्र ध्येय रहेको छ । जब जब मानिसको जीवनमा कुनै संकट पर्दछ जीवन अन्धकारमय हुन्छ तब तब मानिसहरु आफ्ना जन्मदाता आमा बाबुलाई सम्झने गर्दछन् । हाम्रो संस्कृतिमा आमाबाबुलाई मातृदेव भव र पितृदेव भव भन्दै साक्षात देवतानै मानेको छ । पिता शब्दको अर्थ नै संरक्षक हो । आफ्ना अवोध शिशुहरुलाई पालन पोषण गर्ने पिताको महत्वपूर्ण उत्तरदायित्व हुन्छ । पिता प्रत्येक सन्तानको जीवनको पहिलो गुरु पथ प्रदर्शक हुन् । आफ्ना जीवनदाता, शिक्षादाता र पालनकर्ता पिताको सम्मान र आज्ञापालन गर्नु सन्तानको सर्बोपरि कर्तव्य हो । कुशे औंसी वा गोकर्ण औंसी आफ्ना दिवंगत पिताको सम्मान गर्ने दिन हो भने आफ्ना सजीव पिता अर्थात् बाबुप्रति सम्मान र श्रद्धाप्रकट गर्ने पर्व हो । यस दिनलाई बाबुको मुख हेर्ने दिन भन्ने चलन पनि छ । जस्तै वैशाख कृष्ण अमावस्याको दिन आमालाई मानिन्छ भने भाद्रकृष्ण अमावस्याको दिन बाबुलाई मानिन्छ । यस दिन पिता हुनेहरुले पिताको सम्मान गर्ने, नयाँ वस्त्र अर्पण गर्ने, फलफूल, मिठाइ, मसला, दक्षिणा राखी पिताको मुख हेर्ने ढोगभेट गर्ने उनीप्रति कृतज्ञता व्यक्त गर्ने र आदर दर्शाउने गर्दछन् । सजीव पितृको खुशी र सम्मानका लागि छोराछोरीले विभिन्न उपहार सहित बाबुको मुख हेर्ने गर्दछन् । बाबुलाई सन्तुष्ट पार्न मीठा–मीठा खानेकुरा खुवाउने चलन छ । अत पिताप्रति श्रद्धाभाव राख्नु छोराछोरी सबैको कर्तव्य भित्रै पर्दछ । पिताले पनि आफ्ना सन्तानलाई सुख समृद्धि तथा दीर्घायूको आशिष दिई सुरक्षाको अनुभूति दिलाउँछन् । यसरी कुशको सम्बन्ध भगवान विष्णुसँग रहेको छ र यसबाट गरिने शुभकार्यहरु गोकर्णेस्वर भगवान शिवसँग सम्बन्धित भएको छ भने गोकर्णेश्वर दिवंगत पितृहरुसँग जाडिएको छ र यसैबाट जीवित पिताहरुलाई सम्मान गर्ने पितृ दिवस भएकोले यी सबै एक अर्कासंग गाँसिएका छन । अस्तु ! (लेखक देउराली साँस्कृतिक अध्ययन प्रतिष्ठान, पाल्पाका अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update