Shittalpati
बीपी : समाजवाद र अराजकतावाद

कृष्णप्रसाद कोइरालाका तीनवटी पत्नीमध्ये कान्छी दिव्या कोइरालाको गर्भबाट शल्यक्रिया गरी वि.स. १९७१ भाद्र २४ गतेका दिन वाराणसीमा विश्वेश्वरप्रसाद कोइरालाको जन्म भएको हो । न्वारनको नाम चुडामणि भए तापनि भगवान् विश्वनाथको स्मृतिमा विश्वेश्वरप्रसाद राखियो भने बीपी कोइरालाको नामबाट उनी विश्वप्रशिद्ध भए । बीपी सानो देशमा जन्मिएका, संसारले मानेका ठूला नेता हुन् । बीपी कोइरालाको उमेर तीन वर्षको छदा श्री ३ चन्द्रशमसेरले पिता कृष्णप्रसाद कोइरालालाई सर्वस्वहरणसहित देश निकाला गरेका थिए । पन्ध वर्षे उमेरमा अंग्रेज विरोधी अभियानमा बनारसको हरिचन्द्र स्कूलबाट बीपीको पहिलो जेलयात्रा प्रारम्भ भयो । वि.सं. १९८९ का भारतीय समाजवादी नेता जयप्रकाश नारायण र डा.राम मनोहर लेहियासँगको सम्पर्कबाट “काग्रेस सोसलिष्ट पार्टी” को सक्रिय संस्थापक सदस्यता प्राप्ति भयो भने वि.सं. १९९१ देखि सूर्यविक्रम ज्ञवालीको प्रेरणा स्वरुप नेपाली साहित्य रचना गर्न लागेका बीपीले वि. स १९९२ मा काशी हिन्दु विश्व विद्यालयबाट राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक उत्तीर्ण गरेका थिए । वि.सं. १९९३ माघमा झापा जिल्लाका तत्कालीन वडा हाकिम कमलप्रसाद दाहालकी सुपुत्री सुशीलासँग शुभविवाह भयो । वि.सं. १९९८ मा मजदुर आन्दोलनमा पक्राउ र वि.सं. १९९९ मा भारत छोडो आन्दोलनमा महात्मा गान्धीलाई सघाए वापत तीन वर्षसम्म कारागार जीवन व्यतित गरेका बीपीले वि.स २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस मार्फत गणेशमान सिंहसँग भेटघाट बढेपछि यसपूर्व घनिष्ठ भइसकेका कृष्णप्रसाद भट्टराई समेतको त्रिमूर्तिले नेपालबाट राणा शासनको जरैदेखि उन्मूलन गर्ने राजनैतिक पूर्वाधार तय ग¥यो ।

गोप्य आन्दोलन छेड्ने तयारीका साथ नेपाल आएका बीपीलाई वि.सं. २००५ साल पौष महिनामा गिरफ्तार गरियो । कारागारमा अति नै क्रूर र अमानवीय व्यवहार गरियो । कारागारमा बीपी लगातार २९ दिनसम्म आमरण अनसन बसे,जेलमुक्त भएपछि पुनःभारत गए । उदारवादी राणा सुवर्ण शम्सेरको ‘नेपाल प्रजातन्त्र काँग्रेस’ र बीपीको ‘नेपाली राट्रिय काँग्रेस’को समिश्रण गरी नेपाली काँग्रेसको स्थापना बीपी कै पहलमा भयो । वि.स. २००७ साल भदौमा भारत विहारको वैरगनियामा नेपाली काँग्रेसको दुईदिने सम्मेलनपछि विराटनगरबाट आन्दोलन छेडियो । अब भने राणहरुको सातोपुत्लो उड्न लाग्यो । राणाका फौजको क्षति हुँदै गएपछि मोहन शम्सेरले घुँडा टेके । वि.सं. २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र आयो । सात सालको मन्त्रीमण्डलमा गृहमन्त्री भएका बीपी पन्ध्र सालको प्रथम आम निर्वाचनपछि जननिर्वाचित प्रथम प्रधानमन्त्री भए । राजा महेन्द्रले भन्दा बीपी कोइरालाले लोकप्रियता कमाउन थालेपछि वि.सं. २०१७ साल पौष १ गते राजाले बीपीलाई गिरफ्तार गरी मुलुकमा पञ्चायती व्यवस्था लागु गरे । बीपीलाई आठ वर्षसम्म सुन्दरीजल बन्दीगृहमा राखियो । जेल जीवनमा बीपीले आफूलाई साहित्य सिर्जनामा समर्पित गराए । एमनेष्टी इण्टरनेशनलको कडा विरोधपछि बीपीलाई जेलमुक्त गरियो र उनी भारतमा गएर बसे । नेपालको राष्ट्रियता र सार्वभौमिकता खतरामा परेको महसुस गरी वि.सं. २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल आए । राजद्रोह सम्बन्धी सात वटा मुद्दा बीपी माथि लगाइयो । राजा वीरेन्द्र बीपीप्रति उदारवादी रहे तापनि षड्यन्त्रकारी दरबारियाहरुले यी दुबैलाई नजिकिन दिएनन् । वि.स २०३४ साल ज्येष्ठ २ गते बीपी क्यान्सर उपचारको लागि अमेरिकातर्फ लागे । उपचारपछि कार्तिक २३ गते नेपाल फर्कदा विमानस्थलमै गिरफ्तार गरी शितल निवास बन्दीगृहमा राखियो । अदालती मुद्दामा बीपीको जित भयो । छत्तीस सालको विद्यार्थी आन्दोलनको कारणले घरमै नजरबन्द गरियो । जनमत संग्रहको सिलसिलामा दुई दशकपछि नेपाली काँग्रेसको चारतारे झण्डा लिएर मुलुकका अनेकौ क्षेत्रमा आयोजित आमसभालाई सम्बोधन गर्न बीपी अहोरात्र खटिए । सुनियोजित रुपमै छत्तीस सालमा बहुलवादीहरुलाई हराइयो । तर पनि बीपी
हतोत्साही भएनन् ।

वि.सं. २०३७ साल साउनमा जापानी समाजवादी पार्टीको निमन्त्रणामा माघ २१ गते अष्टे«लियाको सिड्नीमा आयोजित एशियाली प्रशान्त समाजवादी सम्मेलनमा भाग लिन बीपीको प्रस्थान भयो । बीपीको स्वास्थ्य दिनप्रतिदिन बिग्रदै गएकाले राजा वीरेन्द्रले बीपीको सम्पत्ति र्फिता गरिदिए । देशभित्र बीपी स्वास्थ्य कोष र भारत बेलायत, अमेरिका लगायतका मुलुकमा बीपी रक्षा समिति गठन भए । वि.स. २०३९ साल असार २७ गते राम्रो उपचारको लागि भाइ गिरिजाप्रसाद कोइराला र कान्छा छोरा शशांक कोइरालाको सहगमनसँगै बीपीलाई थाइल्याण्ड लगियो । बीपीको इच्छा अनुसार नै साउन ६ गते साँझ ५ः४० बजे बीपीलाई विमानबाट नै नेपाल ल्याइयो । सोही दिन साझँ ७ बजेर १५ मिनेट जाँदा ६८ वर्षको उमेरमा महामानव बीपी कोइरालाको संघर्षमय जीवनको अन्त्य भयो ।
बीपीको समाजवाद
१. ‘राजनैतिक दृष्टिमा समानताको सिद्धान्तलाई प्रजातन्त्रले स्थापित गर्दछ भने त्यस्तै आर्थिक दृष्टिले समानताको सिद्धान्तलाई समाजवादले स्थापित गर्दछ ।’
२. ‘समाजवादको नाममा हामी प्रजातन्त्रको हत्या गर्न दिदैनौ र प्रजातन्त्रको नाममा हामी शोषणलाई स्वीकार गर्दैनौ ।’
३. ‘कुनै अप्ठ्यारो परेको बेला आफूले टेकेको धर्तीको माटो हातमा दिई सोध्नु त्यसले जे भन्छ त्यही गर्नु ।’
४. ‘प्रजातन्त्रबाट समाजवाद झिकिदिएमा आर्थिक शोषण हुन्छ, समाजवादबाट प्रजातन्त्र झिकिदिएमा राजनीतिक दमन हुन्छ ।’
५. ‘नेपाली काँग्रेसले राजनीतिका साथसाथै आर्थिक समानताको आधारमा उभिएको समाजवादी प्रजातन्त्रलाई नै आफ्नो आदर्श मान्दछ ।’
बीपी कोइरालाका उल्लेखित महान् वाणीहरुबाट नै यो सिद्ध हुन्छ कि बीपीवाद भन्नु नै प्रजातान्त्रिक समाजवाद हो । बीपीले प्रतिपादन गरेका प्रजातान्त्रिक समाजवादका मुख्य आधारहरु यसप्रकार छन् :
(क) धनी र गरिब बीचमा आर्थिक समानता
(ख) राजनीतिमा राष्ट्रियता
(ग) प्रशासनमा शुद्धता
(घ) न्यायमा निष्पक्षता
(ङ) मौलिक अधिकारको सुनिश्चितता
बीपीको समाजवादी आदर्श अनुगमन गर्ने उनका उत्तरवर्ती नेतारत्नहरुबाट समाजवादी प्रजातन्त्रको पुनः स्थापना गराई स्वतन्त्र र न्यायिक जीवन वरदाश्त गर्ने अनुकूल वातावरण प्राप्त गरायो । नेपाल र नेपालीको भविष्यको लागि बीपी समाजवादलार्ई नै संस्थागत गरी लैजानु अपरिहार्य छ ।
बीपीको अराजतावाद
‘वास्तवमा म आफूलाई साहित्यिक सम्झन्न, मेरो क्षेत्र राजनीति हो । राजनीतिमा म अन्तः पे्ररणाले उकासिएको हुँ भने साहित्यमा ठीक विपरीत म राजनीतिमा समाजवादी हुँ भने साहित्यमा अराजकतावादी हुँ ।’ बीपी कोइरालाको क्षेत्र राजनीति प्रमुख र साहित्य गौण हो भन्ने कुरा बीपीको आफ्नै कथनबाट स्पष्ट हुन्छ । तर पनि नेपाली साहित्यमा बीपीको योगदान अविस्मरणीय नयाँ आयाम मान्न सकिन्छ । विशेष गरी कथाकार र उपन्यासकारको रुपमा स्थापित बीपीका शत्रु,बिहे सिपाही, पवित्रा, दोषी चश्मा, कर्णेलको घोडा लगायतका कथाहरु बहुचर्चित छन् भने तीनघुम्ती, नरेन्द्रदाइ, सुम्निमा, मोदिआइन, हिटलर र यहुदी लगायतका उपन्यासहरु कालजयी छन् ।

बीपी नेपाली साहित्यमा यौन मनोविज्ञानवादी साहित्यका प्रथम प्रणेता हुन् । नारी मनोविज्ञान र यौन विश्लेषणपरक साहित्य सिर्जनामा बीपी स्वतन्त्र छन् । उनले फ्रायडको यौन मनोवैज्ञानिक विश्लेषणलाई साहित्यको माध्यमबाट नेपाली परिवेशमा स्वतन्त्र र यथार्थ रुपमा प्रवेश गराएका छन् । उनले निःसंकोच पुरुषपात्र भन्दा विशेषतः नारीपात्रहरुको यौनपरक मनोग्रन्थीको उद्घाटन र वस्तुस्थितिको यथार्थ प्रदर्शन गरी नेपाली साहित्यको कथा र उपन्यास विधामा नौलो आयामको प्रयोगको थालनी गरेका छन् । साहित्य सिर्जनामा उनी अरुको बाटोमा नहिडेर, व्याकरण र काव्यशैलीका रुढीका बन्धनहरु तोडेर, नियमरहित भई, परतन्त्रता विहीन स्रष्टाझै भएर, आफ्नै नयाँ सोचँ नयाँ प्रविधि र शिल्प विधान दिएर नयाँ साहित्यिक मार्गको थालनी गरेकाले नै उनी साहित्यमा अराजकतावादी हुन् । निष्कर्षमा भन्नुपर्दा नेपाली साहित्यमा बीपी स्वतन्त्र, कलाप्रेमी र फ्रायडवादी यौन मनोविश्लेषणका प्रमुख प्रणेता हुन् ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०७७  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update