Shittalpati
नेपालको प्राकृतिक सौन्दर्य र गौरवमय राष्ट्रियता

सुदिप चन्द पौडेल
नेपाल एक प्राकृतिक रूपमा संसारकै एउटा सुन्दर देश हो भन्ने कुरा कसैले नकार्न सक्दैन । जहाँ मनै लोभ्याउने, मानिसहरूको मननै तरङ्गित गराउने प्राकृृतिक छटा त छ नै, त्यसैमा बाह्रैमासे हिउँ परिरहने अनि तापक्रम सधै शून्य डिग्रीभन्दा तलै रहने र सधै हाँसिरहने संसारकै उच्च हिमालहरूदेखि कहिले पनि १० डिग्री तापक्रम भन्दा तल नझर्ने सुन्दर तराई छ । उच्च हिमालहरू र तराईहरूका बिचमा विभिन्न प्राकृतिक सुन्दरतासँगै निकै सुन्दर पहाडहरू नदीहरू, नालाहरू र कन्दराहरू छन् । प्राकृतिक रुपमा नेपाल विश्वमै धनी मानिन्छ ।

एकाध घण्टाको उकाली, ओरालीमा पहाडको माधी स्याउ र सुन्तला लटरम्म फलिरहको हुन्छ भने त्यही पहाडको फेदीमा आँप, केरा र कटहर पाकिरहेको हुन्छन् । यस्तो प्रकृतिको सुन्दर विषमता भएको हाम्रो देशमा बाहेक अन्यत्र पाउनै सकिदैन् । तर हाम्रो उर्वर र खेतीयोग्य जमिन बाँझै रहेर फलफूल र तरकारी सबै विदेशबाट आयात गर्नु पर्दा नेपालको अरबौ रूपैया विदेशिएको छ । गत वर्ष नेपाल भ्रमण वर्ष २०२० भन्दै सन् २०२० भित्रमा २० लाख विदेशी पर्यटकहरू नेपाल घुम्न ल्याउने भनि सरकारले योजना अघि सारेको थियो । तर विडम्बना विश्वभरी फैलिरहेको नोबेल कोरोना भाइरसका कारण केहि समयका लागि स्थगन गरिएको छ । प्राकृतिक सुन्दरताको हिसाबले नेपालमा २० लाख मात्र होइन अझ धेरै पर्यटकहरू पनि आउन सक्छन् । तर त्यसका लागि आवश्यक पर्ने पूर्वाधारहरू पनि त तयार गर्नुपर्ने हुन्छ ।

हाम्रो देशमा धेरै पर्यटकहरू आउन र आएका पर्यटकहरूले धेरै भन्दा धेरै दिन बिताउन् भन्ने कुरा सफल पार्न सबैभन्दा पहिलो कुरा त यहाँ शान्ति र सुरक्षाको निश्चितता हुनुपर्छ । पर्यटन क्षेत्रका प्रत्येक मानिसहरू इमान्दार, दयालु र मायालु हुनुपर्दछ । विदेशी पर्यटकहरू हाम्रो जस्तो देशको प्राकृतिक सुन्दरता देखेर र लोभिने सायद कोही छैनन् । तर पर्यटन व्यावसायसँग सम्बन्धित व्यक्तिहरूको असहज क्रियाकलापहरू जस्तो सेवासुविधा दिएर सुहाउँदो रकम लिनुको बदला भालुलाई बन्दुक नै पड्काए जस्तो गरी रकम असुल्ने र दुःख दिनुले उनीहरूबाट विदेशमा नराम्रो सन्देश फैलिन्छ । विदेशीहरू नेपाल घुम्न आउँदा यहाँका घुम्नलायक ठाउँहरूका साथै यहाँका मानिसहरूको व्यवहार र प्रवृत्तिहरूको पनि अध्ययन गरेर आएका हुन्छन् भन्ने कुरा हामीहरूले कहिल्यै भुल्नु हँुदैन । इतिहासमा हाम्रा गाउँघरमा अतिथि ‘देव भवः’ भन्दै घरमा आएका पाहुनाहरूलाई स्वागत, सम्मान र सेवा गर्ने चलन थियो । तर आजकल त्यस्तो नभएर कतिपय सम्पन्न मनिसहरूकोमा त घरमा कुकर होस् वा नहोस् उनीहरूको घरको गेटमा नै ‘कुकुरदेखि सावधान’ भनेर लेखिएको हुन्छ, जसले गर्दा कतिपय पाहुनाले यो घरमा त मानिस होइन, कुकुर मात्र बस्दो रहेछ कि ? भन्दै हिडेको पनि सुनियो । विदेशीहरूले रूचाउने फरक विशेषताहरू हाम्रो देशमा के–के छन्, ती कुराहरू उनीहरूलाई देखाउन र बताउन सक्नुपर्छ । यस्ता विषयहरूमा पर्याप्त छलफल चलाई यी कुराहरूको विकास कस्ले गर्ने ?

कहि कतै विकट गाउँहरू र पहराहरू भएपनि हाम्रो जस्तो देशमा अधिकांश जमिन अत्याधिक ऊर्वर र खेतीयोग्य छन् । किनभने अन्य देशहरूमा खेतीपाती गर्न, बालीनाली गर्न, बालीनालीलाई स्याहार्न धेरै मिहेनत गर्नुपर्छ भने माटो र मौसम पनि अनुकुल भएकाले हाम्रो देशमा सजिलरुै खेती गर्न सकिन्छ । अर्थात् त्यती धेरै मिहेनत गर्नुपर्दैन । छोटो दुरीमा नै मौसमको अत्याधिक विषमता भएकाले नजिकै, नजिकै विभिन्न मौसममा फल्ने, विभिन्न, विभिन्न स्वादका फलफूल, तरकारीहरू तथा अन्य खाद्यान्नहरूको खेती गर्न सकिन्छ । सम्बन्धित व्यक्तिहरूले कृषकहरूसँग समन्वय गरी यो कुरा अघि बढाएको खै ?

अहिले केही मात्र जडी–बुटीहरूको व्यवसायिक उत्पादन गर्न थालिएको छ । तर विषम मौसम भएका कारण हाम्रो देशका जंगलहरूमा बेवास्ता गरिएको र संसारमा दुर्लभ मानिएका यति धेरै जडिबुटीहरू छन्, जुन खोज, अनुसन्धान विकास गरी जगेर्ना गर्न बाँकी नै छन् । जंगलमा छरिएर रहेका यस्ता जडिबुटीहरूको खोज, अनुसन्धान, विकास र उत्पादन गरेर विदेश निर्यात गर्न सके मनग्ये आम्दानी गरी राष्ट्रलाई सम्पन्न बनाउन सकिन्छ । तर झारा टार्ने काम बाहेक सम्बन्धित निकायले त्यतातिर ठोस कदम चालेको देखिदैन । मानव जीवनको हरेक क्षेत्रमा आवश्यक पर्ने उर्जाशक्ति बिजुली आफ्नो देशमा पर्याप्त उत्पादन गरेर अन्य देशहरूमा पनि विक्री गरी विदेशबाट मनग्ये आम्दानी गरेर देशलाई सम्पन्नशाली बनाउन सकिने अवस्था छ । त्यस्तै पर्यावरण नबिग्रिने गरी विश्वभरी निमार्ण कार्यको लागि आवश्यक पर्ने प्राकृतिक सोतहरू ढुङ्गा, गिट्टी, बालुवा, माटो, चुनढुङ्गा, पानी, हावा, बिजुली जडिबुटी र काठपात आदि विक्री गरेर देशलाई सम्पन्नशाली बनाउन सकिन्छ । तर नचाहेर पनि भन्नै पर्ने, ती कुराहरू गर्नुपर्ने हाम्रो देशका सम्बन्धित निकायका व्यक्तिहरू राष्ट्रहितको दिर्घकालिन सोच राख्नुको बदला आफ्नै स्वार्थका क्षणिक फाइदा तिर रूमल्लिदै त्यतै तिर ध्यान नदिएर हराए जस्तो देखिन्छ । केहि समय पहिले हाम्रो देश भन्दा धेरै गरिब देशहरू हामीले हेर्दाहेर्दै छोटो समयमा सम्पन्नता तिर लम्कीसकेका छन् । प्रकृतिले ठगेका कति देशहरू पनि तीव्र इच्छाशक्तिका कारण विकसित भैसके, तर प्रकृतिले प्रचुर मात्रामा सम्भावना नै सम्भावना दिएको हाम्रो देश अलि उभो गति भन्दा उधो गति तिर गईरहदा देशवासी तथा विदेशमा दुःख गरी बसेका नेपालीहरूको मन दुख्नु स्वभाविकै छ । देशमा अहिले अख्तियार अनुसन्धान आयोगले २÷४ हजार भ्रष्टाचारमा खरिदार, सुब्बा आदिलाई पक्राउ गरेर मुद्दा चलाइरहेको छ । तर ठूला भ्रष्टाचारी तिर उसले हेर्न पनि सक्दैन । यो दुखको कुरा हो । किनभने ठूला भ्रष्टाचारी तिर हेर्ने बित्तिकै हाकिमको जागीर धरापमा पर्छ ।

देशका ठूला खालका भ्रष्टाचारको बारेमा त कहिले काहि एक आपसमा भागबन्डाको कुराहरू नमिले मात्र थोरै कुरा बाहिर आउँछ । अनि भित्रभित्रै कुरा मिलेपछि हराएर जान्छ । कसैले आवाज उठाउन खोजे हामीले भ्रष्टाचार पनि गर्दैनौ र भ्रष्टाचारी कसैलाई छोड्नेवाला छैनौ, अनुसन्धान हुँदैछ, एक एकलाई कारवाही गर्नेछौ, भनिदिए पुग्छ । ती भ्रष्टाचारहरूमा र भ्रष्टाचारीहरू उपर कसैले आवाज उठाउन सक्दैनन् । मानौ, देशमा अहिले भ्रष्टाचार पनि वैधानिक भैसक्यो । यस्तै गतिमा देश कहाँ जाला ? स्वदेश तथा विदेशमा बसेका नेपालीले मातृभूमिको रक्षार्थ संवेदनशील भएर अगाडि बढ्नुपर्ने बेला आएको छ । राजनीतिक विवादका कारण नेपाली राष्ट्रियता र पहिचानको चीरहरण हुनुहुन्न । हाम्रो राष्ट्रियता यति संवेदनशील छ । हाम्रो स्थापित मान्यतामा कुनै विवाद उठ्यो भने राष्ट्रिय एकतामा खतरा आउन सक्छ । त्यसैले हामीले राष्ट्रियताको विषयमा सधै सहिष्णु र संवेदनशील भएर बोल्नुपर्छ । सहिष्णुता, सभ्यता र संस्कृतिका धनि छौ । अनेकौ जाती मिलेर एक साँझा नेपाली जातीमा एकिकृत हुन सकेको नेपालको राष्ट्रियता ढकमक्क फुलेको छ,जसको कारणले नेपाली संस्कृतिको सुवास विश्वभरी फैलिएको छ । विभिन्न भाषाभाषी बीच सम्पर्क भाषाका रूपमा तथा नेपाली भाषाभाषीबिच सम्पर्क भाषाका रूपमा नेपाली भाषा माध्यमका रूपमा स्थापित भएको छ । तापनि धार्मिक मामलामा विश्वका धर्मनिरपेक्ष राष्ट्रहरू भन्दा नेपाल धेरै उद्दार रहेको पाइन्छ । यहि देशमा मुस्लिम, क्रिष्चियन र अन्य धर्मावलम्बी पनि आफ्ना धार्मिक कर्म गर्न स्वतन्त्र छन् । तरपनि कतिपय नेपाली राष्ट्रियताको सौदाबाजी गरेर स्वार्थपूर्ति गर्न तल्लिन छन् ।

नेपालको राष्ट्रियता भनेको एक भावनात्मक मान्यता मात्र होइन । यो एक क्रियात्मक मनोदशा हो । भू–भागले मात्र राष्ट्रियताको प्रतिनिधित्व गर्दैन । नेपालको राष्ट्रियताका जग तथा आधार र स्थापित मान्यतालाई विस्थापित गर्न खोजिएमा राष्ट्रियता माथि प्रश्न चिन्ह खडा हुन सक्छ । युगौदेखि स्थापित भएका मान्यतालाई विवादमा ल्याइयो भने नेपालीको एकता टुट्न सक्छ । हामी नेपालीको राष्ट्रियता यति संवेदनशील छ कि हाम्रा स्थापित भएका मान्यतामा कुनै विवाद आएमा वा उठाउने काम भयो भने हाम्रो राष्ट्रिय एकतामा खतरा आउन सक्छ । त्यसैले हामीले राष्ट्रियताको विषयमा सधै सहिष्णु र संवेदनशील भएर मात्र बोल्नुपर्छ । नेपालको राष्ट्रियताको कडी भनेको चीन र भारत हो । यसमा पनि भारतसँग नेपालको साँस्कृतिक एवं धार्मिक सौहार्द कायम राखेर सार्वभौमिकता सुरक्षित राख्नुपर्न देखिन्छ । नेपाल–भारत बीचको सौहार्दपूर्ण वातावरण खलबल्याएर केही देशी विदेशी तत्व स्वार्थपूर्तिमा संलग्न हुन पनि सक्छन् । यस्ता षड्यन्त्रबाट दुवै देशका सरकार र जनता समेत सचेत हुनसक्नुपर्छ । हुन त नेपाल, चीन र भारतबिच अवस्थित भूपरिवेष्ठित राष्ट्र हो । यद्यपी नेपालले यी दुई ठूला राष्ट्रहरूको चेपबाट जोगिएर आफ्नो अस्तित्व कायम राख्नु छ । नेपालको राष्ट्रियता भनेको यहाँको संस्कृति, मौलिकता, स्रोत साधन, भूगोल लगायत समष्टी हो । यसका लागि हामी नेपाली आफै सक्षम र सजक नभई राष्ट्रियतालाई समृद्व गराउन सकिदैन । राष्ट्रियता बचाउन आफै अग्रसर हुनुपर्छ, अर्काले बचाइदिने होइन । नेपाल र भारतबिच हिन्दु देवस्थल र अनेकौ धामको गरिमाले जनता एकअर्कालाई सम्मान गर्छन् । नेपाल कहिले पनि पराधीन भएन । तिब्बतमा अवस्थित कैलाश मानसरोवर विश्वका हिन्दुहरूको सम्मानित धाम हो । चीनमा नेपालका भृकुटी र अरनिकोका पदचिन्ह र बौद्व धर्मको उद्गम राष्ट्रका रूपमा नेपाल र नेपाली जनताको सार्वभौम स्वतन्त्रताको चीनले कदर गर्दै आएको छ । त्यसरी नै नेपालीको स्वाभिमान प्रति भारतले सम्मान गर्ने गरेको पनि छ । नेपाललाई गौरव छ कि भारतले धर्मसंकटको बेलामा हिन्दुहरूको आश्रयदाता पनि नेपाल रहिआएको छ । भारतमा हिन्दुहरूका लागि हिमालयको आर्कषण पशुपतिनाथ र मत्स्येन्द्रनाथको दर्शन एउटा चीर आकांक्षा भई नै रहन्छ । नेपाललाई थाहा छ कि विश्वमा प्रत्येक हिन्दुहरू नेपाललाई स्वतन्त्र सार्वभौम हिन्दु अधिराज्यका रूपमा हेरेर आनन्दित हुन्छन् ।

अतःयस हिसाबले नेपाल–भारत बीच धार्मिक र साँस्कृतिक लगायतका विकास र सहकार्यका सवालमा दुवै देशलाई उपयोगी हुन सक्ने नीतिको अवलम्बन गरिनुपर्छ । राष्ट्रियता प्रति मनिसको झुकाव घट्दै गयो भने देशभित्र नैतिकताको ह्रास आउँछ । धर्म, संस्कृतिमा विवाद उठ्न थाल्छ, अराजकता बढ्छ । नेपालमा केही राजनीतिक नेताहरू राष्ट्रियता प्रति संवेदनशील हुन नसकेकाले नेपालको प्राकृतिक र साँस्कृतिक पहिचान विवादमा परेका छन् । स्वदेश तथा विदेशमा बसेका नेपालीहरूले आफ्नो मातृभुमिको रक्षार्थ संवेदनशिल भएर अघि बढ्नुपर्ने बेलाआएको छ । हाम्रो कसैसँग मनमुटाव, भेदभाव छैन । राजनीतिक विवादका कारणले नेपाली राष्ट्रियता र पहिचानको चिरहरण हुनुहुन्न । सबै मित्र राष्ट्रहरूसँग समान सम्बन्ध कायम गरेर आपसी फुट भन्दा एकतामा आवद्व भई हामी राष्ट्रियताको सवालमा एक हुने समय आएको छ । (लेखक राष्ट्रिय युवा स्वरोजगार अभियानका अभियान्ता समेत हुन् ।

प्रकाशित मिति: शनिबार, साउन १०, २०७७  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update