Shittalpati
लागुऔषध दुरुपयोग र सचेतना

राम कार्की
विगत ३२ वर्षदेखि जुन २६ तारिखका दिन विश्वभर वल्र्ड ड्रग डे मनाउँदै आए अनुरूप यसवर्ष पनि ‘राम्रो हेरचाहका लागि उत्तम ज्ञान (बेटर नलेज फर बेटर केयर) भन्ने नाराका साथ यो दिवस मनाइयो । लागुऔषधको प्रयोग र अवैध ओसार–पसार विश्वकै लागि साझा समस्या रहँदै आएको छ । यस परिप्रेक्ष्यमा ७ डिसेम्वर १९८७ मा संयुक्त राष्ट्र संघ महासभाले २६ जुनका दिन ‘लागुऔषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाउने निर्णय गरेको हो ।

यस अनुरूप प्रत्येक वर्ष दिवस मनाउने गरिएको छ । संयुक्त राष्ट्र संघले लागुऔषध समस्या समाधानका लागि आपसी सहयोग बलियो बनाउन तथा अन्तर्राष्ट्रिय समाजलाई लागुऔषध दुरुपयोग मुक्त समाज बनाउने उद्देश्यसहित चालेको यो महत्वपूर्ण कदम हो । यही वल्र्ड ड्रग डेको पूर्वसन्ध्या जुन २५ (असार ११)का दिन लागुऔषध तथा अपराध नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघीय कार्यालयले प्रकाशित गरेको प्रतिवेदन २०२० का अनुसार विश्वमा २६ करोड ५० लाख लागुऔषध प्रयोगकर्ता रहेका र लागुऔषध सेवनका कारण ३ करोड ५० लाखभन्दा बढी मानिस स्वास्थ्य समस्याबाट पीडित छन् । यो तथ्यांकबाट लागुऔषध प्रयोगको समस्या विश्वव्यापी रूपमै दिन प्रतिदिन चुनौतीपूर्ण बन्दै गएको देखिन्छ ।

नेपालमा पनि लागुऔषध प्रयोगकर्ता वृद्धि हुँदै गएको तथ्यांकबाट देखिन्छ । यहाँ विगत २०६३/२०६९ मा गरी दुईपटक केही जिल्ला र शहरहरूलाई कार्य क्षेत्र बनाएर लागुऔषध दुरुपयोगको अवस्थासमेतका बारेमा सर्वेक्षण गरिएको र हाल तेस्रो सर्वेक्षणको प्रतिवेदन आउने प्रक्रियामा रहेको बुझिएको छ । पहिलो सर्वेक्षण अनुसार यहाँ करिव ४६ हजार ३ सय ९ जना लागुऔषध प्रयोगकर्ता रहेको पाइएको थियो । त्यसको ६ वर्षपछि २०६९ सालमा गरिएको दोस्रो सर्वेक्षण अनुसार करिब ९१ हजार ५ सय ३४ जना लागुऔषध प्रयोगकर्ता रहेको तथ्यांक संकलन भएको थियो । यत्ति छोटो अवधिमा ९८ प्रतिशतले प्रयोगकर्ता वृद्धि भएको अवस्था, त्यसपछिका दिनमा कानुन कार्यान्वयन निकायले कारवाहीको दायरा लिएका अभियुक्तहरूको संख्या, सुधार गृहमा उपचारका लागि पुगेका प्रयोगकर्ताको तथ्यांकलाई मध्यनजर गर्दा यो समस्याले समुदायको ठूलो पंक्तिलाई प्रभावित गरेको देखिन्छ ।

२०६९ को सर्वेक्षण अनुसार काठमाडौं उपत्यकाका साथै सुनसरी, कास्की, मोरङ, झापा, रूपन्देही, चितवन, बाँके, पर्सा, मकवानपुर लगायत शहर र शहरोन्मूख ग्रामीण बजार क्षेत्रमा प्रयोयकर्ता बढ्दै गइरहेका छन् । लागुऔषध प्रयोगकर्ता प्रायः १५ वर्ष जतिको उमेरमा यो कुलतमा फसेको पाइएको र २०–२५ वर्ष उमेरका करिब ५७ प्रतिशत रहेको सर्वेक्षणको तथ्यांकले देखाउँछ । यस तथ्यलाई मनन् गर्दा युवायुवती नै लागुऔषध दुरुपयोगको जोखिममा बढी रहेको पाइएको छ । यहाँका प्रायः प्रयोगकर्ताले मनोदीपक औषधीका साथै चरेश, हेराइन, ब्राउन सुगर आदि प्रयोग गर्ने गरेको पाइएको छ । यसका साथै सूईको माध्यमबाट लागुऔषध प्रयोग गर्नेहरूको संख्या बढ्दै गइरहेको पाइएको छ । यिनीहरूले आपसमा सूई साटासाट गरेर प्रयोग गर्ने गरेकाले एचआई भीलगायत गम्भीर रोग सार्ने बाहकका रूपमा समेत भूमिका खेलेका हुनछन् । यसका साथै लागुऔषध दुरुपयोगका कारण सामाजिक तथा मनोवैज्ञानिक समस्या पैदामात्र नभएर हत्या, लुटपाटलगायत आपराधिक क्रियाकलापसमेत बढ्दै गएका पाइन्छन् । लागुपदार्थको कुलतले गर्दा कैयौं ऊर्जाशील नागरिकहरूले ज्यान गुमाएका छन्, घरपरिवार विखण्डित बनाएका छन्, मान प्रतिष्ठा, धन सम्पत्ति गुमाएका छन् । यसरी लागुऔषध प्रयोगका कारण व्यक्ति र परिवारदेखि सिंगो राष्ट्रसम्मले ठूलो क्षति व्यहोर्नु परेको छ । तसर्थ लागु पदार्थ उत्पादन, ओसार–पसार नियन्त्रण, प्रयोगकर्तालाई दुव्र्यसनमुक्त र तिनीहरूलाई परिवार एवं समुदायमा पुर्नस्थापित गर्नुपर्ने चुनौती राज्यका सामु छ । कोभिड–१९ महामारी पश्चात् सिर्जित बढ्दो बेरोजगारी समस्या र अवसरको कमीले गर्दा गरिब, सीमित शिक्षा प्राप्त व्यक्ति, सामाजिक सीमान्कृत वर्गका युवा, महिलालाई लागुऔषध उत्पादन, ओसार–पसार र सेवन जस्ता क्रियाकलापमा प्रयोग गर्नसक्ने जोखिम त्यत्तिकै बढेको छ ।

कलिला किशोर किशोरीले लागुऔषध प्रयोग गर्न थाल्नुका पछाडि साथीहरूको संगत, तिनको दवाब, गरिबी, बेरोजगारी, अवसरबाट वञ्चित, एक्लोपन, मानसिक तनाव आदि कारण छन् । तसर्थ तिनीहरूलाई लागुऔषध प्रयोगबाट आ–आफ्नो स्वास्थ्य, सामाजिक, आर्थिकलगायत क्षेत्रमा पर्ने प्रभावका सम्बन्धमा समयमै शिक्षा दिनु आवश्यक छ । यसक्रममा युवायुवती, घरपरिवार, अभिभावक, शिक्षक, समुदाय आदिलाई केन्द्रित गरी लागुऔषध समस्याबारे समाजमा विद्यमान गलत सूचना, भ्रममा सुघार गर्नका निम्ति सचेतना अभियान गाउँका दूरदराजसम्म व्यापक रूपमा सञ्चालन गर्न अपरिहार्य छ । समग्रमा भन्नुपर्दा सरकारी तहबाट लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण, रोकथामका लागि सबल संरचना, दृढ नीति, कडा कानुन साथै कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउने प्रयास हुँदैआए पनि लागुऔषध प्रयोगकर्ताको संख्यामा कमी आउनुको सट्टा दिन प्रतिदिन वृद्धि हुँदै गएको छ । विगतको अनुभवबाट यो समस्याको समाधान सरकारी पक्षको एकल पहलमा सम्भव देखिँदैन । त्यसकारण लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण, रोकथाम कार्यलाई अझ प्रभावकारी बनाएर स्वस्थ्य र सभ्य समाज निर्माण गर्न तीन तहका सरकारबीच समन्वयका साथै गैरसरकारी संस्था, नागरिक समाज, लागुऔषध प्रयोगकर्ता, अभिभावक आदि सबैको साझा प्रयास हुनु जरुरी छ ।
(लेखक राष्ट्रिय अनुसन्धान विभागका पूर्व डिआइजी एवं पाल्पा क्षेत्र नम्बर २ प्रदेश (ख) का प्रदेश सांसदका उम्मेदवार समेत हुन् ।)
–साभार : हिमालय टाइम्स

प्रकाशित मिति: शनिबार, साउन ३, २०७७  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update