Shittalpati
सन्दर्भ भानुजयन्ती : भानुभक्त र छविलाल

जन्मान्तर : भानुभक्त आचार्यको जन्म गण्डकी अञ्चल, तनहुँ जिल्ला, रम्घा चुँदीमा भएको थियो भने छविलाल नेपालको जन्म लुम्बिनी अञ्चल, पाल्पा जिल्ला, तानसेन मेहल्धारामा भएको थियो । भानुभक्त श्रीकृष्ण आचार्यका नाती र धनञ्जय आचार्यका छोरा थिए भने छविलाल भवानी शंकर नेपालका नाती र दिननाथ नेपालका छोरा थिए । भानुभक्तको जन्म वि.सं. १८७१ असार २९ गते कृष्ण पक्षको अष्टमीको दिन भएको थियो भने छविलालको जन्म वि.सं. १९०५ मा भएको थियो । यस अर्थले छविलाल नेपाल भन्दा भानुभक्त आचार्य ३४ वर्षले जेठा थिए । भानुभक्त आचार्य ५४ वर्षको उमेरसम्म बाँचेर वि.सं. १९२५ मा दिवंगत भएका थिए भने छविलाल ७४ वर्षको उमेरसम्म बाँचेर वि.सं. १९७९ मा दिवंगत भएका थिए । यस अर्थले भानुभक्त भन्दा छविलाल २० वर्ष बढी बाँचेका थिए ।

पुर्खा : भानुभक्त आचार्य भन्दा अगाडि एघार पुस्तासम्मको जानकारी सूचीकृत भएको पाइन्छ तर भानुभक्तका पुर्खाहरु कहाँबाट रम्घा चुँदी आई बसेका हुन् भन्ने तथ्य पाइँदैन । छविलाल नेपाल भन्दा अगाडि दुई पुस्तासम्म मात्र भेटिएको पाइन्छ र उनीहरु पाल्पाको लघुवा भन्ने ठाउँबाट बसाइ सराई गरी आएको भन्ने पाइन्छ । दुवैका पुर्खा शिक्षित सभ्रान्त ब्राह्मण परिवार रहेको पाइन्छ ।

शिक्षा : हजुरबुबा श्रीकृष्ण आचार्य संस्कृतका धुरन्धर विद्वान भएका र बुबा धनञ्जय आचार्य सरकारी काममा व्यस्त रहनु पर्नाले भानुभक्तको शिक्षादिक्षा हजूरबुबा श्रीकृष्ण आचार्यबाट भएको पाइन्छ । चौध वर्षको उमेरमा भानुभक्त बनारस गई अठार वर्षको उमेरमा संस्कृत र दर्शनशास्त्रको राम्रो ज्ञान हासिल गरेर फर्केका थिए भने छविलाल नेपाललाई विद्यारम्भ बाबु दिननाथ नेपालले गराएका थिए । सँस्कृत पढ्न समेत बनारस जाने आउने गरेका थिए । उनी १८/१९ वर्षको उमेरमा भानुभक्तसँग पढ्न र भाषा सिक्न भनि रम्घा, चुँदीपनि गएका थिए ।

भेटघाट : भानुभक्त आचार्य वि.सं. १९०२ देखि वि.सं. १९०७ सम्म पाल्पामा बसेका थिए । शुरुमा बिरामी बुबालाई सघाउन र पछि जागिरको सिलसिलामा उनी पाल्पा बसेका थिए । उनी दिननाथ नेपालको घरमा डेरामा बसेका थिए । दिननाथ नेपाल पनि सरकारी जागीरे भएकोले दुवैको कुरा मिल्दथ्यो । यही क्रममा भानुभक्त र दिनानाथले मितेरी पनि लगाएका थिए । छविलालको जन्म वि.सं. १९०५ सालमा भएको थियो । भानुभक्त ३४ वर्षका हुँदा छविलालको जन्म भएको थियो भने भानुभक्तले ३६ वर्षको उमेरमा पाल्पा छाड्दा छविलाल दुई वर्षका नाबालक थिए । मित भानुभक्तको प्रभाव र काव्यशैलीले गर्दा दिननाथले छोरा छविलाललाई १८/१९ वर्षको उमेरमा भानुभक्त कहाँ पढ्न पठाएका थिए । केहि समय बसेर पढेपछि घरायसी कारणले छविलाल पाल्पा फर्किए । दशवर्षपछि २८/२९ वर्षको उमेरमा छविलाल भानुभक्त कहाँ पुनः पढ्न रम्घा, चुँदी जाँदा भानुभक्तको स्वर्गारोहण भइसकेको थियो ।

सिर्जना : भानुभक्तले नेपाली भाषामा रामायण, रामगीता, बधुशिक्षा, भक्तमाला, प्रश्नोत्तर लगायतका रचनाहरु सृजना गरेका थिए भने छविलालले नेपाली भाषामा पुत्रशिक्षा, गोपीगीत, फूटकर रचना लगायतका रचनाहरु सृजना गरेका थिए । भानुभक्तले बधुशिक्षा रचना गरे भने छविलालले पुत्रशिक्षा रचना गरे । बधुशिक्षा र पुत्रशिक्षाको एक/एक श्लोकलाई यसरी उल्लेख गरिएको छ ।
बधुशिक्षा

प्रातः काल यहाँ उठेर पहिले ध्यान ईश्वरकै गरुन्,

सो ईश्वर पति हुन् भनेर पछि त्यो भक्ती पतीमा धरुन्,
भक्तीले पति ईश्वरै भनि बुझुन पाउतलैमा परुन्,
पूजा हो पतिको भनेर घरका काममा अगाडी सरुन् ।
पुत्रशिक्षा
जसका छैन् शरिरमा गुण भन्या सबको अचानू भई,
जे भन्छन् उहि मान्नुपर्छ दिनदिन सुख छैन काँही गइर्,
पढ्न्या काम लिई चुँदी तनहुँमा आइ बस्याको थियाँ,
बालक पुत्रहरु पढ्न भनी यहाँ शिक्षा बनाई दियाँ ।
भानुभक्तको बधुशिक्षाबाट नै प्रभावित भएर छविलालले पुत्रशिक्षा लेखेका थिए । पुत्र शिक्षाको अन्तिम श्लोकमा उनले भानुभक्तको प्रशंसा गर्दै आफ्नो परिचय पनि यसप्रकार दिएका छन् ।
भाषा श्लोकमहाँ शिपालु अघि खूब श्रीभानुभक्तै थिया,
सो ओस्ताज विति गै गया जान्ने छविलाल थिया,
बाबाको दिननाथ पण्डित छ नाम प्रख्यात छ नेपाल भर,
मेरो नाम छविलाल भनेर बुझ्नु पाल्पा शहरमा छ घर ।
भानुभक्तले भक्तमाला लेखेका थिए भने छविलालले गोपीगीत लेखेका थिए । भक्तमाला र गोपीगीतको एक÷एक श्लोकलाई यहाँ उल्लेख गरिएको छ ।
भक्तमाला
प्रतिज्ञा मैले यो यमसित गर्‍याँ जन्मि अब ता,
सिताराम, भन्याछु, विषयहरुमा छोडि ममता,
प्रतिज्ञा सो बिर्सीकन जन धनै खोजि झुलियो,
सिताराम भज्न्या हो शिवशिव उसै आज भुलियो ।
गोपीगीत
गोपीनीहरु खोज्दछन् बिरहले दीसा–विदीसामहाँ,
दर्शन दीनुहवस सखे ! ब्रजपते । ऐल्हे हजुरले यहाँ,
प्राणता छैन शरीरमा तिपते ! सबको हर्जुथै गयो,
मट्टी झैं सब गोपीनीहरु भया आज्काल त यस्तो भयो ।
भानुभक्तको भक्तमालामा पनि इश्वरीय भक्तिभाव पाइन्छ भने छविलालको गोपीगीतमा पनि इश्वरीय भत्तिः भाव पाइन्छ । यस्तैगरी भानुभक्तले कान्तिपुरी नगरीको वर्णन गरेका थिए भने छविलालले रानीमहलको वर्णन गरेका थिए । यी दुवै कविताको एक एक श्लोक यसप्रकार रहेको छ ।
कान्तिपुरी
चपला अबलाहरु एक सुरमा
गुनकेशरीका फूल लि शीरमा
हिड्या सखी लिकन ओरिपरि
अमरावती कान्तिपुरी नगरी ।
रानीमहल
अति असल नयाँ यो रानिघाट बन्न आयो
सुखसित सब लोकले गण्डकी स्नान पायो
बडनदि तहिँ संगम गण्डकी स्नानलाई
अति असल वेणी शास्त्रमा नै बताई ।
भानुभक्तको सिको गरेरनै छविलालले काव्य सृजना गरेका थिए । भानुभक्त वितिसकेता पनि, छविलाल भानुभक्तको कवितामा ज्यादैनै लब्ध भएकोले रम्घा, चुँदीमै बसेर भानुभक्तको सृजना अध्ययन र कविता सृजना गर्नलागे । केही समयपछि छविलाल पाल्पा फर्कदा उनले आफूले लेखेको रुद्रिको पुस्तक साथी हरिकृष्णलाई दिई यो कविता सृजना गरेका थिए ।
पाल्पाको छविलाल पढुँभनि चुँदी आई बस्याको थियाँ,
यो रुद्री हरिकृष्णलाई अहिले माफीक लेखी दियाँ,
ह्रस्वो दीर्घ सकार सार अघिको पुस्तक सरीनै छ यो,
यस्मा शुद्ध अशुद्ध शोध अरु थै मैले त यस्तै भयो ।
मोतिराम र छविलाल : भानुभक्त आचार्यलाई चर्चामा ल्याइदिने व्यक्तित्व मोतिराम भट्ट थिए । भानुभक्तको रामायण मोतिराम भट्टले नछापिदिएको भए सायद भानुभक्त आदिकवि हुँदैनथे । मोतिराम भट्टले जस्तै छविलाल नेपालले भानुभक्तलाई उचाइमा पुर्‍याउन नसकेता पनि छविलाल नेपालले भानुभक्तको प्रचारप्रसार गरिरहेकै थिए भन्ने कुरा छविलाल नेपालको निम्न कविताको अंशबाट पुष्टि हुन्छ।
भानुभक्त भनी प्रशिद्ध नरमा जसको छ नाऊँ पनि,
घरमा तिन्को तनहूँ छ बेसि चुँदि हो गाउँ छ रम्घा भनी,
प्रख्यात छन् सब लोकमा ति गुणि हुन् विद्वान बडा खूव थिया,
यो प्रश्नोत्तर बुझ्नलाई सजिलो भाषा बनाई दियाँ ।
पण्डित कविराज नरनाथ आचार्य
(२०३६)द्वारा लिखित आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्रको केही ठाउँमा भानुभक्त, छविलाल र मोतिरामको प्रसंग पनि उल्लेख गरिएको छ । मोतिराम भट्टको जन्म वि.स. १९२३ मा र मृत्यु वि.सं. १९५३ मा भएको थियो । आफ्नो ३० वर्षे जीवनमा मोतिरामले भानुभक्तको प्रायः सबै सृजना अध्ययन गरेका थिए भने छविलाल नेपालको रचनाहरु वि.सं. १९५३ अघिको मात्र अध्ययन गर्न पाएका थिए । कवि भानुभक्तका परमभक्त छविलाल थिए, छविलालको काव्यशैली भानुभक्तकै छाँटको छ, रचना शुद्धि र व्याकरणको नियम भानुभक्तको जस्तैनै छ भनि मोतिरामले उल्लेख गरेका छन् । मोतिरामले भानुभक्त, बिहारीलाल र छविलालको सम्बन्धमा यस्तो श्लोक रचना गरेका थिए । भानुभक्त, बिहारीलाल, छबिलाल पतञ्जली नाम गरी नेपालीहरुमा अनेक कवि छन् भाषासिलोकमा रची ।

आदिकवित्व : लौकिक सँस्कृत सााहित्यका आदिकवि वाल्मीकिलाई मानेझैँ नेपाली भाषा साहित्यका आदिकवि भानुभक्तलाई मानिन्छ । यसैक्रममा पाल्पाली साहित्यका आदिकवि छविलाल नेपाललाई मान्नुमा कुुनै अत्युक्ति नहोला । गुमानी कवि, वीरशाली कवि, वसन्त कवि, रघुनाथ कवि हुँदाहुँदै पनि भानुभक्त आचार्यनै आदिकवि भए । यस्तै गरी पाल्पामा कवि पृथ्वीपाल सेन, कवि त्रिलोक कुँवर लगायतका कवि हुँदाहुँदै पनि छविलाल नेपालनै पाल्पाली आदिकवि कहलिए । किनभने यसको एउटै मात्र कारण छ यी दुबै कवि सँस्कृतका ज्ञाता भएता पनि नेपाली भाषामा सरल रुपमा काव्य सृजना गर्न अघि परे । जसको काव्यप्रवाहलाई सबैले रुचाए, लयमा लय मिलाएर गाए, यसैले जनस्तरमा यी दुवै कविहरु अति लोकप्रिय भए । भानुभक्त आचार्यलाई नेपाल सरकारले राष्ट्रिय आदिकविको रुपमा घोषणा गरेको हो भने छविलाल नेपाललाई पाल्पा साहित्य समाजले वि.सं. २०५१ सालदेखि पाल्पाली आदिकविको रुपमा सार्वजनिक गरेको हो । कवि भानुभक्त तनँहुमा जन्मेर काठमाण्डौ जाने आउने क्रममा काव्य सृजना गरेर राष्ट्रिय स्तरमै चर्चित भए भने कवि छविलाल पाल्पामा जन्मेर तनहुँ जाने आउने क्रममा मोफसलमा चर्चित हुन पुगे । तात्कालीन समयमा कवि छविलाल यदि राजधानी शहर काठमाण्डौमाम जान आउन गर्न पाएका भएका उनी पनि राष्ट्रिय स्तरमै अझ चर्चित हुने थिए । जे होस्, राष्ट्रिय आदिकवि भानुभक्त आचार्य र पाल्पाली आदिकवि छविलाल नेपाल हामी साहित्य सर्जकहरुका लागि र समग्र नेपाली साहित्यको लागि प्रेरणाका स्रोत हुन् । आदिकविद्वयको योगदानलाई हामीले कहिल्यै बिर्सनु हुँदैन । साहित्यकारहरुले यी दुवैको आदिकवित्व माथि कुनै शड्ढा उठाउनु हुँदैन । आदिकवि भानुभक्त/छविलाल अमर रहुन् । (लेखक शिक्षा स्वास्थ्य साहित्य प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: सोमबार, असार २९, २०७७  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update