Shittalpati
अनधिकृत राहत संकलन नगर्न गुल्मी प्रशासनको कडा निर्देशन

गुल्मी, मनोमानी रुपमा राहत संकलन गर्ने कार्यलाई तत्काल रोक्न जिल्ला प्रशासन कार्यालय गुल्मीले कडा निर्देशन  गरेको छ । बाढीप्रभावितकानाममा अनाधिकृतरूपमा चन्दा संकलन नगर्न अपिल मार्फत निर्देशन गरेको हो ।

प्रशासनले राहत उपलब्ध गराउने नाममा अनाधिकृत रूपमा नगद तथा जिन्सी संकलन नगर्न समेत आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेद्वारा जारी गरिएको सूचनामा जिन्सी सहायता सामग्री पठाउन चाहनेहरूले सम्बन्धित जिल्लामा पु¥याउने प्रबन्ध सहित जिल्ला प्रशासनसँग आवश्यक समन्वय गर्न निर्देशन गरिएको छ। सहयोग गर्न इच्छुक व्यक्ति वा संस्थाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषको आधिकारिक बैंक खातामा रकम जम्मा गर्न सकिने जनाएको छ। प्रशासनद्वारा जारी सूचनामा गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीका कारण मुलुकले ठूलो धनजनको क्षति व्यहोर्नु परेको र देश नै शोकमा रहेको जनाउँदै सर्वसाधारण एवं सरोकारवाला निकायमा पाँच बुँदे निर्देशन समेत गरिएको छ। सामाजिक सञ्जालमा तथ्यहीन सूचना, विभत्स फोटो तथा भिडियो पोस्ट र सेयर नगर्न, पीडित परिवारलाई हतोत्साहित बनाउने तथा भ्रम फैलाउने कार्य नगर्न प्रशासनको निर्देशन छ। 

राजधानी प्रवेश गर्ने मुख्य पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द रहेको र वैकल्पिक मार्गहरूको यात्रा पनि कठिन रहेकाले अत्यावश्यक काम बाहेक काठमाडौँको यात्रा नगर्न पनि आग्रह गरिएको छ। प्रशासनले मनसुन सक्रिय रहेकाले जिल्लाका विभिन्न सडक तथा बस्तीहरू समेत जोखिममा पर्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। यसका अतिरिक्त नजिकिँदै आएको हरितालिका तीज पर्वलाई मध्यनजर गर्दै उक्त पर्वलाई भड्किलो र तडकभडक नगरी सामान्य तरिकाले मनाउन सबैमा आग्रह गरेको छ।


 

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update