पाल्पा, जिल्लाको रामपुर नगरपालिकाको आन्तरिक आय सुदृढीकरणका लागि ऐन–कानुन निर्माण तथा प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ । रामपुर नगरपालिकामा मंगलबार आयोजित आन्तरिक राजस्व सुदृढीकरणसम्बन्धी अनुशिक्षण कार्यशालामा सहभागीहरूले नगरपालिकाको आन्तरिक स्रोत वृद्धि गर्न कर प्रशासनलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् ।
कार्यशालामा नीतिगत व्यवस्था, कानुनी प्रबन्ध, कार्यक्रम तथा बजेट, राजस्व प्रशासनको सुदृढीकरण तथा कार्यान्वयन, डिजिटल राजस्व व्यवस्थापन प्रणाली र आगामी योजनालगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले संविधान तथा स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारको परिधिभित्र रहेर नगरपालिकाले कर संकलन गर्दै आएको बताए । उनले करको दर बढाउनेभन्दा पनि करको दायरा विस्तार गरेर आन्तरिक राजस्व वृद्धि गर्ने नीति नगरपालिकाले लिएको उल्लेख गरे । नगर प्रमुख थापाले विकास निर्माणका योजना तथा कार्यक्रम सञ्चालनका लागि आन्तरिक स्रोत महत्वपूर्ण हुने बताउँदै नगरको आन्तरिक आय वृद्धि गर्न नागरिकमा करसम्बन्धी चेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए ।
नागरिकले सहज र सरल रूपमा कर तिर्न सक्ने वातावरण निर्माणका लागि नगरपालिका प्रतिबद्ध रहेको उनको भनाइ थियो । उपप्रमुख बालकुमारी थापाले नगरको विकासका लागि राजस्व मेरुदण्डका रूपमा रहेको बताउँदै आन्तरिक आय वृद्धि गर्न जनप्रतिनिधि, कर्मचारी तथा सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेको बताइन् । उनले कर तिर्नु सरकारप्रतिको दायित्व मात्र नभई त्यसको प्रत्यक्ष सम्बन्ध विकाससँग जोडिएको विषय भएको उल्लेख गर्दै प्रत्येक नागरिकले तोकिएको कर अनिवार्य रूपमा तिर्नुपर्नेमा जोड दिइन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले नागरिकले तिरेको करबाट नै राज्यको समग्र विकासमा योगदान पुग्ने भएकाले करको महत्वबारे नागरिकलाई बुझाउन आवश्यक रहेको बताए । उनले आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकाले संकलन गरेको राजस्व, राजस्व संकलनको दायरा तथा संकलनका लागि नगरपालिकाले गरेका प्रयासलगायतका विषयमा जानकारी गराए । कार्यशालाको सहजीकरण गर्दै स्कोलर नेपालका सहजकर्ता मणिराम महतले राजस्वमा सुधार नगरी विकास निर्माणका अन्य कामलाई प्रभावकारी रूपमा अघि बढाउन कठिन हुने बताए । राजस्व सुदृढीकरणका लागि कर शिक्षा र करसम्बन्धी जनचेतना अभिवृद्धिसँगै आवश्यक ऐन–कानुन निर्माणमा विशेष ध्यान दिनुपर्ने उनले बताए ।
महतका अनुसार राजस्व सुदृढीकरणसम्बन्धी अनुशिक्षण कार्यक्रमका लागि देशभरबाट २५ वटा स्थानीय तह छनोट गरिएका छन् । त्यसमध्ये लुम्बिनी प्रदेशका पाँचवटा स्थानीय तह छनोट भएका छन् भने सोहीमध्ये रामपुर नगरपालिका पनि छनोटमा परेको हो । रामपुर नगरपालिकाको आयोजना, प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमको प्राविधिक सहयोग र स्कोलर नेपालको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, शाखा प्रमुख, कर्मचारी तथा वडा सचिवहरूको सहभागिता रहेको थियो । नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षता, उपप्रमुख बालकुमारी थापाको स्वागत र योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा कार्यक्रम भएको थियो ।


