Shittalpati
चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

काठमाडौँ, गत वैशाख १ देखि यही साउन १४ गतेसम्म देशका विभिन्न भागमा तीन हजार ९५१ विपद्जन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार  ती घटनामा  १९३ जनाको मृत्यु, तीन जना बेपत्ता, एक हजार १६५ जना घाइते तथा पाँच हजार ८७ परिवार प्रभावित भएका छन् । 

उक्त अवधिमा सबैभन्दा बढी एक हजार दुई वटा आगलागीका घटना, सर्पदंशका ६७०, पहिरोका ६६२, हुण्डरीका ४७९, चट्याङका २३१, भारी वर्षाका २२६, वन्यजन्तु आक्रमणका २१८, बाढीका १९८ र वन डढेलोका १९१ घटना भएका छन् । यसैबीच, साउन १३ गते बिहान १०ः०० बजेदेखि साउन १४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न स्थानमा  ३४ वटा विपद्जन्य घटना भएका प्राधिकरणले जनाएको छ ।  ती घटनामा १३ जना घाइते भएका छन् भने २३ जनाको उद्धार भएको छ । घटनामा रु ४१ लाख आठ हजार बराबरको क्षति भएको  छ । 

सो अवधिमा सर्पदंशका आठ, आगलागीका आठ, भारी वर्षाका नौ, पहिरोका पाँच, बाढीको एक र वन्यजन्तु आक्रमणका तीन घटना भएका छन् ।  यसैगरी, साउन १३ गते बिहान ८ः४५ बजेदेखि साउन १४ गते बिहान ८ः४५ बजेसम्म देशका विभिन्न भागमा अवस्थित ४४८ वर्षा मापन केन्द्रमध्ये २६६ केन्द्रमा वर्षा अभिलेख भएको र सबैभन्दा बढी १०४.६ मिलिमिटर वर्षा कञ्चनपुरको दोधारामा भएको प्राधिकरणले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update