Shittalpati
रहेनन् लोकतान्त्रिक आन्दोलनका अग्रणी योद्धा गोपालमान

पाल्पा, लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व, नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ । पेटसम्बन्धी रोगबाट पीडित रहेका श्रेष्ठको उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा मंगलबार निधन भएको हो ।
    
केही समयदेखि ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा उपचाररत श्रेष्ठ विगत एक वर्षदेखि क्यान्सरबाट पीडित थिए । उनको नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गरिएको थियो । श्रेष्ठको पार्थिव शरीर बुधबार (आज) बिहान श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिनेछ । त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी गरिएको कांग्रेसले जनाएको छ । श्रेष्ठलाई केही दिनअघि मात्रै नेपाली कांग्रेसले वरिष्ठ नेताको जिम्मेवारी दिएको थियो ।
    
स्याङ्जाबाट पटक–पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रेष्ठ नेपाली कांग्रेसका अनुभवी नेतामध्ये एक थिए । उनले भौतिक योजना, वन, उद्योग तथा शिक्षामन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए । २००२ मा कांग्रेस विभाजनपछि शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक) मा आबद्ध भएका उनले कार्यवाहक सभापतिको जिम्मेवारीसमेत निर्वाह गरेका थिए । लोकतन्त्र र प्रजातन्त्रका पक्षमा भएका आन्दोलनमा सक्रिय भूमिका खेलेका श्रेष्ठ विभिन्न समयमा गरी करिब पाँच वर्ष जेल जीवनसमेत बिताएका थिए । उनी गत पुसमा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा पनि सहभागी भएका थिए । श्रेष्ठको निधनसँगै नेपाली कांग्रेसले लामो राजनीतिक अनुभव भएका एक अग्रज नेता गुमाएको छ । उनको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

नेपाली काँग्रेस पाल्पाद्वारा दुःख व्यक्तनेपाली कांग्रेस पाल्पाले पनि श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । मंगलबार जिल्ला सभापति हिमालदत्त श्रेष्ठद्वारा शोक वक्तव्य जारी गर्दै निधनको खबरले पाल्पा काँग्रेस स्तब्ध भएको  भन्दै दुःख व्यक्त गरिएको हो । सभापति श्रेष्ठले नेपाली कांग्रेस पाल्पा तथा आफ्नो व्यक्तिगत तर्फबाट स्वर्गीय गोपालमान श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा नेपाली कांग्रेसका सम्पूर्ण नेता–कार्यकर्ताप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । शोक वक्तव्यमा स्वर्गीय श्रेष्ठले नेपाली लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण तथा राष्ट्र निर्माणका विभिन्न क्षेत्रमा पुर्‍याएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरिएको छ ।

 उनी २०१७ सालदेखि निरन्तर राजनीतिक आन्दोलनमा सक्रिय रहँदै २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२/६३ सालको दोस्रो जनआन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कांग्रेस पाल्पाले स्मरण गरेको छ । लोकतन्त्र, संविधान र जनअधिकारको पक्षमा उनले पुर्‍याएको अतुलनीय योगदान भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनेर रहने वक्तव्यमा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update