Shittalpati
भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

पाल्पा, देशभर मनसुनी वायूको प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ । विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले आगामी तीन दिनसम्म उल्लेख्य वर्षाको सम्भावना रहेको हो ।

शनिबार देशभर अधिकांश बादल लागेको छ । शनिबार बिहान जारी बुलेटिनमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख छ । कर्णाली र सुदुरपश्चिम प्रदेशको  एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि बुलेटिनमा उल्लेख गरिएको छ । यस्तै आइतबार कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईको एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागको एक–दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको समेत सम्भावना रहेको विभागले जारी बुलेटीनमा उल्लेख छ । यस्तै सोमबार पनि कोशी, बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
तटीय क्षेत्रमा बाढीको जोखिम
पाल्पासहित देशका केही जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहेको पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका अनुसार  पाल्पा, अर्घाखाँची, रुपन्देही, ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पश्चिम, डोटी, बझाङ, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लाबाट बग्ने साना नदी र खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको छ ।  यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तथा खोला आसपास बसोबास गर्ने नागरिक, सडक यात्री र निर्माण कार्यमा संलग्नलाई आवश्यक सतर्कता अपनाउन विभागले आग्रह समेत गरेको छ । महाशाखाका अनुसार निरन्तरको वर्षासँगै पहाडी र हिमाली क्षेत्रमा बहाव बढ्ने भएकाले नदी किनार, तटीय क्षेत्र तथा डुबान र पहिरोको जोखिम भएका स्थानमा विशेष सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ । खोलाहरूमा बहाब बढेर तटीय क्षेत्र तथा आसपासका बस्तीहरू प्रभावित हुन सक्ने भन्दै विभागले स्थानीय बासिन्दा र सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
सवारी सञ्चालनमा रोक
देशका २३ जिल्लामा रातिको समयमा सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ । शनिबार र आइतबार देशका विभिन्न स्थानमा भारी वर्षा हुने भएकाले सवारी सञ्चालनमा रोक लगाइएको हो ।   राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिन अत्याधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायलाई आग्रह गर्दै पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी, स्याङ्जामा रातीको समयमा सवारी आवागमनमा रोक लगाइएको जनाएको छ ।


 

प्रकाशित मिति: आइतबार, साउन ३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update