Shittalpati
अवैध लागूऔषध सहित २२ जना पक्राउ

पाल्पा, देशका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ परेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्दिया, सुनसरी, उदयपुर, धनुषा, झापा, बाँके, महोत्तरी, गोरखा, कैलाली, काठमाडौं लगायतका स्थानबाट अवैध लागूऔषध सहित २२ जनालाई पक्राउ गरिएको हो ।

बर्दियाको गुलरिया नगरपालिका–६ भन्सार रोडबाट अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय सरिफ अहम्मद ईदरिसीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  सुनसरीको बराहक्षेत्र नगरपालिका–५ बिशालचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २७ ट्याब्लेट र स्पास्पेन २७ ट्याब्लेट सहित सोही नगरपालिका–४ बस्ने ३० वर्षीय बिक्रम विश्वकर्मासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले प्र.०१–०२–०४६ प २३३३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस्तै उदयपुरको चौदण्डीगढी नगरपालिका–२ चारघरेमा  पनि लागूऔषसहित एक जना पक्राउ गरेका छन् । सोही ठाउँका ३० वर्षीय गोपाल खड्कालाई लागूऔषध ट्रामाडोल १ सय ५९ ट्याब्लेट सहित इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस्तै धनुषाको मिथिला बिहारी नगरपालिका–५ बाट लागूऔषध गाँजा करिब १९ किलो १९ ग्राम सहित हंसपुर नगरपालिका–३ मलहिनिया टोल बस्ने ६५ वर्षीय कोरघुबिर दासलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी ललियाबाट खटिएको प्रहरीले बिरेन्द्र बजारबाट हंसपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००१ स ३१९९ नम्बरको अटोमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस्तै झापाको बिर्तामोड नगरपालिका–५ स्थित देउराली होटलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३१ ग्राम १ सय ७० मिलिग्राम सहित भारत पश्चिम बंगाल दार्जिलिङ खोरिबारी ग्रामथान पंचायत बस्ने ३४ वर्षीय कमल बर्मनलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले होटलको ४०४ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस्तै बाँकेको कोहलपुर नगरपालिका–२ शक्तिनगर बस्ने २६ वर्षीय बिक्की कार्की भन्ने मान बहादुर कार्कीसहित ४ जनालाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ७० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ । 

यस्तै महोत्तरीको बर्दिबास नगरपालिका–१ पूर्व बस काउन्टर अगाडिबाट अवैध लागूऔषधसहित धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ बस्ने ३५ वर्षीय सुनिल कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै गोरखाको शहिद लखन गाउँपालिका–७ लाखेडाँडाबाट लागूऔषध सहित गोरखा नगरपालिका–४ फिनाम बस्ने ३० वर्षीय अमृत बयलकोटीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नामजुङबाट गोरखा बजारतर्फ आउँदै गरेको ग.४ च २४२८ नम्बरको कारमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–९ बक्राकटनबाट अवैध लागूऔषध सहित सोही उपमहानगरपालिका–८ बस्ने २२ वर्षीय प्रकाश रानासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले से.२ प ६१३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस्तै कैलालीको गोदावरी नगरपालिका–१ अनामनगरबाट लागूऔषध सहित २ जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने ३३ वर्षीय हरिष वडु र गोदावरी नगरपालिका–२ तेघरी बस्ने २६ वर्षीय सुरेन्द्र भट्ट रहेका छन् । यस्तै काठमाडौंको टोखा नगरपालिका–९ कुलान्त मार्ग बस्ने नुवाकोट ककनी गाउँपालिका–२ घर भएका ३५ वर्षीय नविन घिमिरे सहित २ जनालाई अवैध लागूऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति: आइतबार, साउन ३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update