Shittalpati
प्रकाशकीय : ३२ औँ वर्षमा हाम्रो यात्रा

आज नव जनचेतनाका लागि केवल अर्को वर्ष थपिएको दिन मात्र होइन, यो विश्वास, प्रतिबद्धता र निरन्तरताको तीन दशकभन्दा लामो यात्राको एउटा महत्वपूर्ण खुड्किलो पनि हो । पाल्पाबाट तत्कालीन साप्ताहिकका रूपमा आरम्भ भएको नवजनचेतना राष्ट्रिय दैनिकले आज नियमित प्रकाशनको ३१ वर्ष सफलतापूर्वक पूरा गर्दै ३२ औँ वर्षमा प्रवेश गरेको छ । अनेकौँ चुनौती, परिवर्तन र प्रतिस्पर्धाबीच पनि हामीले पत्रकारिताको मूल मूल्य र आदर्शबाट कहिल्यै विचलित नहुने प्रयास गरेका छौं । समय परिवर्तनशील छ । सञ्चारको स्वरूप, प्रविधि र पाठकका अपेक्षाहरू पनि तीव्र रूपमा बदलिएका छन् । यस्ता परिवर्तनलाई अवसरका रूपमा ग्रहण गर्दै नवजनचेतनाले आफूलाई समयानुकूल परिष्कृत गर्दै आएको छ । छापा पत्रकारितासँगै डिजिटल माध्यमलाई सशक्त बनाउँदै विश्वसनीय, सन्तुलित र जनपक्षीय सामग्री पाठकमाझ पुर्‍याउने हाम्रो अभियान निरन्तर जारी रहनेछ । हामीलाई गर्व छ कि विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नियमित रूपमा ३ सय ४८ अंक प्रकाशित गर्न सफल भएका छौँ ।

नेपालका धेरै जसो दैनिकहरुले वर्ष दिनमा ३ सय अंक समेत प्रकाशन गर्न नसकेको अवस्थामा पाल्पा जस्तो पहाडी जिल्लाबाट ३ सय ४८ अंक प्रकाशन गरेर पाठकको घरदैलोमा पुर्‍याउन पाएकोमा खुशी छौं । यो उपलब्धी केवल संस्थाको प्रयासको परिणाम मात्र होइन, हामीप्रति पाठकले देखाउनुभएको विश्वास, शुभेच्छुकहरूको सद्भाव, विज्ञापनदाताको साथ, लेखक तथा संवाददाताहरूको अथक योगदान र सम्पूर्ण सहयोगी परिवारको सामूहिक परिश्रमको प्रतिफल पनि हो । ३२औँ वर्षमा प्रवेशसँगै हाम्रो जिम्मेवारी अझ बढेको छ । सत्य र तथ्यमा आधारित पत्रकारितालाई अझ सशक्त बनाउने, लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन, विकास, सामाजिक न्याय र जनचासोका विषयलाई प्राथमिकताका साथ उठाउने तथा समाजमा सकारात्मक चेतना प्रवाह गर्ने हाम्रो प्रतिबद्धता अझ दृढ रहनेछ । जनताको आवाजलाई सशक्त रूपमा अभिव्यक्त गर्ने, स्थानीय मुद्दालाई राष्ट्रिय बहसमा स्थापित गर्ने र राष्ट्रिय सरोकारका विषयमा जिम्मेवार भूमिका निर्वाह गर्ने हाम्रो अभियान निरन्तर रहनेछ ।

दक्ष जनशक्तिको अभाव, महंगो प्रविधि तथा त्यही प्रविधि पनि सहजताका साथ उपलब्ध नहुँदा प्रकाशनलाई निरन्तरता दिन निकै कठिन भइरहेको छ । केन्द्र,प्रदेश र स्थानीय सरकारहरु, आम पाठकवर्ग, विज्ञापनदाता, सञ्चारकर्मी, शुभचिन्तकहरुको निरन्तर सहयोगले हामी चुनौतीहरुलाई पार गर्दै यो अवस्थासम्म आइपुगेका छौं । आजको यो उत्सवको समयमा हामी विगतका सबै पीडाहरूलाई भुल्दै अब नविन भविष्यको परिकल्पनामा अग्रसर छौँ । विगतका अनुभवलाई पाठकका रूपमा लिई नयाँ यात्रामा नयाँ जोश, नयाँ उत्साह, नयाँ संकल्प र नविन ऊर्जाका साथ संलग्न हुनुपर्छ भन्ने हाम्रो विश्वास छ । मोफसलमा रहेर समाचारमूलक पत्रिका प्रकाशन गरी यो यात्रा तय गर्नु पक्कै पनि सामान्य कार्य हैन । अहिले विज्ञापनदेखि अनेक सन्दर्भमा छापा माध्यमहरूले अप्रिय अवस्थाको सामना गरिरहनु परेको छ । यो बेलामा सरकारले स्पष्ट नीतिका साथ छापा माध्यमहरूको सुरक्षाको लागि उचित नीति र निर्णय गरोस् भन्ने हाम्रो आग्रह छ ।

भूकम्प जस्ता महाविपत्तिमा होस् वा कोरोना महामारीका बेला हामी निरन्तर स्थानीयस्तरका समाचार, दुर्गम क्षेत्रका जनताको आवाज मिडियासम्म ल्याउन तल्लीन रहयौं । कठिन यात्रामा अविचलित रुपमा अगाडि बढेरै हामीले ३१ वर्षको यात्रा सफलतापूर्वक पार गरेका हौं । मोफसलमा पत्रकारिताको यात्रा अझै पनि चुनौतीपूर्ण छ, तर यो चुनौतीलाई स्वीकार गरेरै हामी निरन्तर अगाडि बढ्ने अठोट गरेका छौं । हाम्रो यात्रालाई तीन दशकसम्म ल्याइपुर्‍याउन धेरै सहयोगी सहकर्मीहरूको योगदान रहेको छ । जसलाई हामी बिर्सन सक्दैनौँ । अन्त्यमा, यो यात्रामा साथ दिनुहुने समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुक, लेखक, संवाददाता र कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुप्रति हार्दिक आभार व्यक्त गर्दै निरन्तर सहयोग र सहकार्यको अपेक्षा गरेका छौँ । ३२औँ वर्षमा प्रवेशको यस गौरवपूर्ण अवसरले हामीलाई विगतप्रति गर्व गर्ने, वर्तमानलाई अझ जिम्मेवार बनाउने र भविष्यप्रति थप आशावादी हुने प्रेरणा दिएको छ । यही प्रेरणालाई ऊर्जा बनाएर नवजनचेतना आगामी दिनमा पनि समाज र राष्ट्रप्रति आफ्नो दायित्व इमानदारीपूर्वक निर्वाह गर्दै अघि बढिरहने प्रतिवद्धता  व्यक्त गर्दछौ ।

प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update