Shittalpati
अवैध लागूऔषध सहित चार जना पक्राउ

पाल्पा, देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित आठ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कैलाली, मकवानपुर, नवलपरासी पश्रुचिम, बर्दिया र तनहुँ बाट अवैध लागूऔषधसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको हो । बर्दियाको बाँसगढी नगरपालिका–१ चेपाङ बजारबाट अवैध लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्राम सहित बढैयाताल गाउँपालिका–६ का २४ वर्षीय आशिष थारूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चेपाङबाट खटिएको प्रहरीले कोहलपुरबाट सुर्खेततर्फ जाँदै गरेको हायसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 यस्तै मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीबाट अवैध लागूऔषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गाँजा जस्तो देखिने पदार्थ करिब १ सय ९ किलो ९६ ग्राम सहित धादिङ गजुरी नगरपालिका–७ किरानचोक बस्ने ४१ वर्षीय सुमन तामाङ समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०१–०२६ च ४८९३ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक सुमन समेत २ जनालाई पक्राउ गरिएको जनाएको छ । यस्तै  कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय १० मिलिग्राम सहित सोही नगरपालिका–३ कटानपुर बस्ने २६ वर्षीय उमेश चौधरीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस्तै नवलपरासी पश्रुचिमको सरावल गाउँपालिका–३ कोठिल्लाबाट नियन्त्रित लागूऔषध डाइजेपाम २ सय एम्पुल, फेनारगन २ सय एम्पुल र बुप्रेनोर्फिन २ सय एम्पुल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–४ बस्ने २० वर्षीय रमेश हरिजन र सोही गाउँपालिका–५ बडहरा बस्ने १९ वर्षीय राम प्रसाद हरिजन रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले युपी ५७ ए एस ३२३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस्तै तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट डाइजेपाम ६७ एम्पुल, फेनारगन ६७ एम्पुल र बुप्रेनोर्फिन ६७ एम्पुल सहित म्याग्दी बेनी नगरपालिका–४ रत्नेचौर बस्ने २५ वर्षीय सुजन थापालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग.१५ प ५८०० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी सोही ठाउँबाटै अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ किलोग्राम सहित गोरखा गण्डकी गाउँपालिका–६ बस्ने ५९ वर्षीय देब बहादुर थापा मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको गण्डकी जि एए ००७१ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । सबै घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update