पाल्पा, आज हिन्दू धर्मावलम्बीहरूले श्रद्धापूर्वक प्रदोष व्रत मनाउँदै छन् । प्रत्येक पक्षको त्रयोदशी तिथिको सायंकाल पर्ने प्रदोष व्रत भगवान शिवको विशेष आराधना गर्ने दिनका रूपमा मानिन्छ ।
धार्मिक विश्वासअनुसार यस दिन विधिपूर्वक व्रत बसेर शिव–पार्वतीको पूजा–आराधना गरे मनोकामना पूरा हुनुका साथै सुख, शान्ति, समृद्धि र आरोग्य प्राप्त हुने विश्वास छ । आज बिहानैदेखि देशभरका शिव मन्दिरहरूमा भक्तजनको घुइँचो लाग्ने छ । श्रद्धालुहरूले स्नान गरी उपवास बसेर बेलपत्र, धतुरो, दूध, दही, घिउ, मह र जल अर्पण गर्दै भगवान शिवको पूजा गर्ने छन् ।
विशेषगरी साँझको प्रदोषकालमा गरिने शिवपूजालाई अत्यन्त फलदायी मानिने भएकाले सो समयमा मन्दिरहरूमा विशेष आरती, भजन–कीर्तन तथा धार्मिक कार्यक्रम आयोजना गरिन्छ । धर्मशास्त्रका अनुसार प्रदोष व्रतले मानसिक शान्ति, पारिवारिक सुख, आर्थिक उन्नति तथा ग्रहदोष शमनमा सकारात्मक फल प्रदान गर्ने धार्मिक विश्वास छ । यही कारणले हरेक महिनामा पर्ने प्रदोष व्रतका अवसरमा हजारौं श्रद्धालु शिवालय पुगेर पूजा–आराधना गर्ने परम्परा रहिआएको छ । यस अवसरमा देशभरका प्रमुख शिवालयहरूमा सुरक्षा, दर्शन र पूजा व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको सम्बन्धित निकायले जनाएको छ ।


