गुल्मी, गुल्मी प्रहरीले गुणस्तरहीन तथा अखाद्य ठहरिएको करिब चार सय किलोग्राम महजस्तो देखिने पदार्थ बरामद गरी नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गत जेठ २७ गते राति रेसुङ्गा नगरपालिका–८ स्थित बुढाथोकी बसपार्कबाट मह बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले उक्त पदार्थ नियन्त्रणमा लिएको थियो । सोही मह नक्कली भएको परीक्षणबाट पुष्टि भएपछि प्रहरीले नष्ट गरेको हो । नमुना परीक्षणका लागि खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय, तानसेन पठाइएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले परीक्षण प्रतिवेदनमा नेपाल सरकारले तोकेको महको गुणस्तर मापदण्ड पूरा नगरेको पुष्टि भएपछि उक्त पदार्थलाई अखाद्य घोषणा गरिएको जानकारी दिए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय गुल्मी, रेसुङ्गा नगरपालिका तथा उद्योग वाणिज्य सङ्घ गुल्मीका प्रतिनिधिको रोहवरमा जिल्ला प्रहरी कार्यालय परिसरभित्र उक्त गुणस्तरहीन पदार्थ विधिपूर्वक नष्ट गरिएको हो । प्रहरीले उपभोक्ताको स्वास्थ्यमा असर पुर्याउन सक्ने गुणस्तरहीन खाद्यवस्तुको उत्पादन, बिक्री–वितरण वा ओसारपसारबारे जानकारी भए तत्काल प्रहरीलाई सूचना दिन सर्वसाधारणसँग आग्रह गरेको छ ।


