पाल्पा, यसपटक पानी पर्न थालेपछि डेंगी संक्रमणसमेत बढ्ने प्रक्षेपण गरिएको छ । पानी पर्न थालेपछि डेंगी संक्रमणको जोखिम पनि बढ्ने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
सङ्क्रमणको जोखिम बच्न आवश्यक सर्तकता अपनाउन इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सबैमा अनुरोध समेत गरेको छ । दैनिक पानी पर्न थालेपछि डेङ्गीको जोखिम पनि बढ्ने भएकाले सर्तकता अपनाउन सबैलाई आग्रह गरेको हो । केही दिनअघि परेको पानीले डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेको महाशाखाले जनाएको छ । असार ९ गतेदेखि १५ गतेसम्म ६३ जनामा डेङ्गी देखिएको महाशाखाले जनाएको छ । डेंगीबाट बच्न घर वरिपरिका खल्डाखुल्डीमा पानी जम्न नदिने, नियमित सरसफाइ गर्ने, सुत्ने बेला झुलको प्रयोग गर्नेलगायत उपाय अपनाउन सकिने बताइएको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएर मानिसलाई टोकेपछि डेङ्गी रोग लाग्दछ ।


