Shittalpati
आज शनि प्रदोष व्रत देशभर श्रद्धापूर्वक मनाइँदै

पाल्पा, आज शनि प्रदोष व्रत देशभर श्रद्धापूर्वक मनाइँदै छ । हिन्दू धर्मावलम्बीहरूले भगवान शिवको विशेष पूजा–आराधना गरी श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन् ।

 प्रत्येक पक्षको त्रयोदशी तिथिमा पर्ने प्रदोष व्रतमध्ये शनिबार परेको प्रदोषलाई शनि प्रदोष भनिन्छ, जसलाई अत्यन्त शुभ र फलदायी मानिन्छ  । धार्मिक मान्यताअनुसार प्रदोषकालमा भगवान शिव र माता पार्वतीको पूजा, अभिषेक, दीप प्रज्वलन तथा व्रत बस्दा मनोकामना पूरा हुने, पाप क्षय हुने र जीवनमा सुख–शान्ति तथा समृद्धि प्राप्त हुने विश्वास छ । साथै शनिदेवको अशुभ प्रभाव कम हुने जनविश्वास पनि रहेको छ । आज बिहानैदेखि देशभरका शिवालयमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । भक्तजनहरूले जल, दूध, बेलपत्र, धतुरो, अक्षता र फूल अर्पण गर्दै शिवको आराधना गर्ने गर्दछन् । साँझ प्रदोषकालमा विशेष पूजा, आरती र भजन–कीर्तनका कार्यक्रम आयोजना गरिने धार्मिक परम्परा रहेको छ । धर्मशास्त्रमा प्रदोष व्रतलाई आत्मसंयम, भक्ति र सदाचारसँग जोडिएको व्रतका रूपमा वर्णन गरिएको छ । व्रतालुहरूले दिनभर उपवास बसी साँझ शिवपूजापछि प्रसाद ग्रहण गर्ने चलन छ । धर्मविद्हरूका अनुसार श्रद्धा, आस्था र विधिपूर्वक गरिएको शनि प्रदोष व्रतले मानसिक शान्ति, पारिवारिक सुख, स्वास्थ्य तथा सकारात्मक ऊर्जा प्राप्त गर्न प्रेरणा दिने विश्वास रहेको छ ।

प्रकाशित मिति: शनिबार, असार १३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update