बुटवल, नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो अभिव्यक्तिबारे नेपाली जनतासँग माफि माग्नुपर्ने बताएका छन् । सोमबारदेखि बुटवलमा सुरु भएको नेपाली कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय ‘जरा अभियान’लाई सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्रीको प्रमाणविपरीत अभिव्यक्ति अत्यन्त खेदजनक, गैरजिम्मेवार र राष्ट्रहितविपरीत भएकाले जनतासँग माफी माग्नुपर्ने बताएका हुन् ।
उनले सीमावर्ती क्षेत्रमा हुने अतिक्रमण, ‘क्रस बोर्डर अकुपेसन’ र विवादका विषयमा तथ्य–प्रमाणबिनै प्रधानमन्त्रीले बोलेको भन्दै यसलाई ‘आपत्तिजनक, चिन्ताजनक र देशद्रोही प्रवृत्ति’ भनेका छन् । “तथ्य, प्रमाण र दस्तावेजबिना प्रधानमन्त्रीले यस्तो बोल्नु राष्ट्रहितविपरीत छ,” सभापति थापाले भने, “२०७४ सालमा सबै दल मिलेर संसदबाट एकमतले पारित गरेको नेपालको नक्सा र त्यसका आधारहरूलाई नजरअन्दाज गरिनु देशद्रोही प्रवृत्ति हो ।” प्रधानमन्त्रीको यस्तो गैरजिम्मेवारपूर्ण कदमले नेपालीको शिर निहुराएको र राष्ट्रिय अखण्डतालाई खण्डित गर्ने दुष्प्रयास गरेको आरोप पनि उनले लगाएर सभापति थापाले यो ‘राष्ट्रिय लज्जाको विषय’ भन्दै प्रधानमन्त्रीले तत्काल संसद्मा उपस्थित भएर आफ्नो गल्ती स्वीकार गरी जनतासँग माफी माग्नुपर्ने बताए । नेपालको भूमि, सीमा र राष्ट्रिय स्वाधीनतासम्बन्धी विषय कुनै दल, सरकार वा व्यक्तिको मात्र सरोकारको विषय नभई सम्पूर्ण नेपाली जनताको साझा राष्ट्रिय संकल्प रहेको उनको भनाइ छ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पनि प्रधामन्त्रीले सीमासम्बन्धी दिएको अभिव्यक्ति गम्भीर र आपत्तिजनक भएको बताए । उनले आफ्नै देशको संसद्रुमा उभिएर मेरो देशले छिमेकीको सीमा मिचिएको छ भन्ने प्रधानमन्त्री बालेन एक्लो भएको पनि टिप्पणी गरेका छन् । “प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर र आपत्तिजनक छ,”उनले भने, “संसारको एकमात्र प्रधानमन्त्री जो देशको संसद्मा उभिएर भन्दैछ– मेरो देशले छिमेकीको सिमा मिचेको छ, यस्को मतलब के अब हिसाब बराबर हो ?” उपसभापति शर्माले प्रधानमन्त्री शाहलाई बोल्नु अगाडि दर्जनौं पटक सोच्न समेत आग्रह गरे । उनले संवेदनशील कूटनीतिका प्रश्नमा प्रधानमन्त्री संयम र परिपक्व हुन जरुरी रहेको बताए ।
उहाँ (बालेन्द्र शाह) देशको प्रधानमन्त्री हो, बोल्नुअघि दर्जन पटक सोचेर बोल्नुपर्छ, अझ संवेदनशील कूटनीतिक प्रश्नमा संयम र परिपक्वता झनै जरुरी हुन्छ,” शर्माले भने, “हामी जान्न चाहन्छौं– उहाँको शब्दले सरकार र रास्वपाको प्रतिनिधित्व गर्छ कि गर्दैन ?” कांग्रेस लुम्बिनी प्रदेश समितिको आयोजनामा भएको जरा अभियानमा सभापति थापा, उपसभापति शर्मा, महामन्त्री गुरू बराललगायतका नेताले सम्बोधन गरेका थिए । भेलामा लुम्बिनी प्रदेशका केन्द्रीय कार्यसमिति पदाधिकारी तथा सदस्य, प्रदेश कार्यसमिति पदाधिकारी, प्रदेश सरकारका मन्त्री तथा प्रदेशसभा सदस्य, १२ वटै जिल्लाका सभापति, जिल्ला समन्वय समिति प्रमुख–उपप्रमुख, पालिका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष सहभागीता रहेको कांग्रेस प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले बताए । उनका अनुसार पार्टी संगठनलाई तल्लो तहसम्म थप सुदृढ बनाउने, नेतृत्व विकास तथा प्रशिक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको भेला मंगलबार आजसम्म चल्नेछ । प्रदेश सभापति अमर पुनको अध्यक्षतामा कार्यक्रम भइरहेको छ ।


