Shittalpati
सडकमै खाए, सडकमै रमाए

पाल्पा, तानसेनबासीले सडक महोत्सवको अवसरमा सडकमै खाने, सडकमै गाउने र नाच्ने गरेर रमाएका छन् । तानसेनको भीमसेनटोलमा आयोजना गरिएको सडक  खाना महोत्सवमा जिल्ला भित्र तथा बाहिरका पर्यटकहरुले सडकमै नाचगान सहित खाजाका परिकार खाएर सडक महोत्सव मनाए ।

गत शनिबार भीमसेन टोलविकास संस्थाको आयोजनामा भएको एक दिने सडक महोत्सवमा  हजारौं दर्शक तथा पर्यटकको उल्लेख्य सहभागिता रहेको थियो । महोत्सवमा स्थानीय परिकार, सांस्कृतिक प्रस्तुति, हस्तकलाका सामग्री तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले सहभागीलाई आकर्षित गरेका  थिए । महोत्सवको मुख्य आकर्षणका रूपमा सडकमै सजाइएका खानाका स्टलहरू रहेका थिए । आगन्तुकहरूले स्थानीय स्वादका परिकारको स्वाद लिँदै सडकमै बसेर भोजन गरेका थिए । स्थानीय मौलिक खानाका परिकारहरू योमरी, हाँसको छोइला, बटुक, सेलरोटी, चुकाउनी लगायतका परिकारहरूका साथै स्थानीय कलाकारहरूद्वारा नेवारी नाँच, मगरी नाँच लाखे नाँच, लिलि घोडा नाँचबाट आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो । टोल विकास संस्थाले हरेक वर्ष यहाँ सडक खाना महोत्सव गर्दै आएको छ । स्थानीय खानाको संरक्षण गर्ने, खानाको स्वाद आन्तरिक तथा बाह्य पर्यटकलाई चखाउनुको साथै भीमसेनटोलमा सञ्चालन हुँदै आएका खुला वाचनालयलाई व्यवस्थित गर्दै, टोलको सरसफाई गर्नको लागि आवश्यक रकम जुटाउने उद्देश्यले सडक खाना महोत्सवको आयोजना गर्ने गरिएको संस्थाका अध्यक्ष प्रकाशनाथ गोंगलले जानकारी दिए । नारायणस्थान चोकदेखि, टुँडिखेलसम्म  खाना स्टल राखिएका थिए । महोत्सवको एक कार्यक्रमकाबिच लुम्बिनी प्रदेशका प्रदेश सांसद तथा पूर्व मन्त्री वीर बहादुर रानाले उद्घाटन गरेका थिए । महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका सांसद रानाले तानसेनको कला, संस्कृति, खानपान र पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महोत्सवले सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

महोत्सवको लागि तानसेन नगरपालिका –६  वडा कार्यालयले समेत सहयोग गरेको थियो । कार्यक्रमा सामाजिक व्यक्तित्व शोभा शाक्य, पाल्पा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष रञ्जना अर्याल, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना, तानसेन– ६ का वडा अध्यक्ष सागरमान महर्जन लगायतले महोत्सवले तानसेनको पर्यटन क्षेत्रको विकासमा महोत्वपूर्ण योगदान पुर्‍याउने बताए । संस्थाका अध्यक्ष प्रकाशनाथ गो·लको अध्यक्षता, उपाध्यक्ष पुतली देवी शाक्य श्रेष्ठको स्वागत, कार्यक्रम संयोजक सुसन कुमार बज्राचार्यको धन्यवाद ज्ञापन, सचिव वीरेन्द्र काजी शाक्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update