पाल्पा, विगतमा गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा भए पनि यस पटक भने तोडिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र १९ वर्ष प्रवेशका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेसँगै विगतमा कार्यकारी प्रमुखबाट सम्बोधन गर्ने परम्परा पहिलो पटक तोडिएको हो ।
प्रधानमन्त्री बालेन शाह कार्यक्रममा सहभागी भए पनि सम्बोधन गर्न चाहेनन् । यद्यपि उनले विशेष समारोहलाई सम्बोधन गरिदिन राष्ट्रपति पौडेललाई पत्राचार गरेका थिए ।
यता कतिपयले भने गणतन्त्र दिवसजस्तो महत्वपूर्ण र अर्थपूर्ण कार्यक्रममा समेत नबोल्ने प्रधानमन्त्रीको अडानपछि बालेनबाट व्यवस्थाकै अपमान भएको टिप्पणी गरिरहेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रधानमन्त्रीले गणतन्त्र दिवसमै बोल्न अनिच्छा प्रकट गर्नु अचम्मको छ ।
गणतन्त्र दिवसको समारोहलाई पहिलो पटक सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनहरूले मात्र युगका अपेक्षा पूरा नहुने बताए ।


