गुल्मी, निर्वाचन आयोगले गुल्मीका दुई वडाध्यक्षले दल त्याग गरेकाले उक्त पद रिक्त रहेको सूचना जारी गरेको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित मुसिकोट नगरपालिका–२ का वडा अध्यक्ष रविन्द्र के.सी. र धुर्कोट गाउँपालिका–३ का वडा अध्यक्ष पदमबहादुर बिष्टले दल त्याग गरेकाले उक्त पद स्वत रिक्त हुन गएको आयोगले विहीबार जारी गरेको सूचनामा उल्लेख छ ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग गरी अर्को दलमा प्रवेश गरेमा पद स्वतः रिक्त हुने व्यवस्था छ । सोही कानुनी व्यवस्था अनुसार आयोगले उनीहरूको पद रिक्त भएको निर्णय सार्वजनिक गरेको जनाएको छ । आयोगले विहीबार सूचना प्रकाशित गर्दै सम्बन्धित निकायलाई समेत जानकारी गराएको छ ।
“राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको व्यहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने कानूनी व्यवस्था बमोजिम नेपाली कांग्रेसको संवत् २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका उल्लेखित जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेको भनी केन्द्रीय कार्य सम्पादन समितिको निर्णयको प्रतिलिपि सहित आयोगमा जानकारी प्राप्त हुन आएकोले निजहरू निर्वाचित भएका पालिका/तहको निर्वाचित पद स्वक्त रिक्त भएको भनी आयोगबाट मिति २०८३/०२/१३ गते निर्णय भएको हुँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ” प्रकाशित सूचनामा भनिएको छ । उनीहरु दल परिवर्तन गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।


