Shittalpati
नेपाली सेनाद्वारा विद्यालय भवन निर्माण

सिद्धार्थनगर (भैरहवा),रुपन्देहीको रोहिणी गाउँपालिका–२ मैनिहवास्थित राम आधारभूत विद्यालयमा नेपाली सेनाले दुई कक्षाकोठासहितको नयाँ भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।विद्यालयका कक्षाकोठा जीर्ण बन्दै गएपछि पठनपाठन प्रभावित हुन थालेको हो । यस्तो अवस्थामा नेपाली सेनाले ‘शीघ्र प्रभावी योजना’ अन्तर्गत नयाँ भवन निर्माण गरेको हो । निर्माण सम्पन्न भवनको बुधबार मध्यपश्चिम पृतना हेडक्वाटरका पृतनापति हिम्मतबहादुर विष्टले उद्घाटन गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सावर यादवलाई हस्तान्तरण गरेका थिए।

तारादल गणद्वारा निर्माण गरिएको उक्त भवनले विद्यार्थीलाई सुरक्षित र व्यवस्थित वातावरणमा अध्ययन गर्ने सुविधा उपलब्ध गराउने विश्वास गरिएको छ । विद्यालयमा विद्यार्थी सङ्ख्या बढ्दै जाँदा पुराना भवन चर्किएर जोखिमपूर्ण अवस्थामा पुगेपछि नयाँ संरचनाको आवश्यकता परेको बताइएको छ । उपरथी विष्टले नेपाली सेनाले शिक्षा, स्वास्थ्य, खानेपानी तथा सामुदायिक पूर्वाधारका क्षेत्रमा स्थानीय तहसँग सहकार्य गर्दै जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको बताए । नयाँ भवन निर्माणसँगै विद्यालयको शैक्षिक वातावरण सुधार हुने तथा बालबालिकाले सहज र सुरक्षित रूपमा अध्ययन गर्न पाउने अपेक्षा गरिएको छ । स्थानीयवासीले पनि यस कार्यले मैनिहवा क्षेत्रको शैक्षिक विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update