पाल्पा, आजदेखि १७ गतेसम्म लगातार ४ दिन सार्वजनिक बिदा परेको छ । जेठ १४, १५, १६ र १७ गते सार्वजनिक विदा रहेको हो ।
गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा) को अवसरमा बिदा दिने निर्णय भएको जनाएको छ ।
गृह प्रवक्ता आनन्द काफ्लेले राजपत्रमा प्रकाशित सूचना अनुसार इश्लाम धर्मालम्बीहरूको बकर ईदको दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको र १४ गते सो चाड रहेकोले बिदा दिने निर्णय भएको जानकारी दिए । जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिने यसअघि नै राजपत्रमा प्रकाशित छ । १६ गते शनिबार र १७ गते आइतबार सार्वजनिक बिदा नै रहेको छ । सरकारले आइतबार पनि बिदा दिने निर्णय गरेका कारण १७ गते पनि कार्यालय र विद्यालय खुल्ने छैनन् । १३ गतेपछि एकैपटक १८ गते खुल्नेछन् । लगातार चार दिन सार्वजनिक बिदा परेपछि सामाजिक सञ्जालमा चर्चा चलेको छ । कतिपयले यसलाई “आराम र परिवारसँग समय बिताउने सुनौलो अवसर” का रूपमा लिएका छन् भने केहीले लामो बिदाले सरकारी कामकाज र उत्पादनशीलतामा असर पार्ने टिप्पणी गरेका छन् । अर्थविद्हरूका अनुसार यदि बिदाको समयलाई आन्तरिक पर्यटन र आर्थिक गतिविधिसँग जोड्न सकियो भने यसले अर्थतन्त्रमा सकारात्मक योगदान पु¥याउने बताएका छन् । विशेषगरी होटल, यातायात, खाद्य तथा मनोरञ्जन क्षेत्रले प्रत्यक्ष लाभ लिने देखिएको छ ।
केहीले लामो समयपछि पारिवारिक भेटघाट, घुमफिर र आराम गर्ने अवसर पाएइएको बताएका छन् । यद्यपि लामो बिदाका कारण केही सरकारी सेवा भने प्रभावित हुने भएका छन् । राहदानी, मालपोत, यातायात कार्यालय लगायतका सरकारी सेवामा काम रोकिँदा सेवाग्राहीले समस्या भोग्नुपर्ने देखिन्छ । अत्यावश्यक सेवा बाहेक अधिकांश कार्यालय बन्द हुँदा कतिपय काम केही दिन पछाडी धकेलिएको छ । लगातार चार दिनको सार्वजनिक बिदाले एकातिर नागरिकलाई आराम र मनोरञ्जनको अवसर दिएको छ भने अर्कोतर्फ पर्यटन तथा सेवा क्षेत्रमा आर्थिक चलायमानता थप्ने देखिन्छ ।


