Shittalpati
महिलालाई जुत्ता, चप्पल बनाउने तालिम

पाल्पा,जिल्लाको तानसेन नगरपालिका –५ वडा कार्यालले  यहाँका महिलाहरुलाई जुत्ता, चप्पल बनाउने तालिम दिएको छ । उसले महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले एक हप्ते तालिम दिएको हो । शुक्रबारदेखि सुरु भएको तालिममा वडा भित्रका ३४ जना महिलाहरुले छालाका जुत्ता र चप्पल बनाउ सिकिरहेका छन्।तालिमबाट स्वरोजगारी सिर्जना गर्नुका साथै महिला सशक्तिकरणमा समेत जोड दिने लक्ष्य रहेको वडाअध्यक्ष रामबहादुर रावलले बताए । सीप विकासमार्फत विपन्न समुदायका महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको उनको भनाई छ । तालिममा सहभागी महिलाहरुले उत्साहका साथ तालिम लिइरहेका छन् । सीप र रोजगारलाई प्राथमिकता दिदै दक्ष जनशक्ति र उद्यमी उत्पादन गर्ने गरी वडाले काम गरिरहेको वडा अध्यक्ष रावलले बताए । उनले महिला र युवाहरुलाई सीपसँग जोड्दै क्षमता विकास गर्ने र उत्पादन गरेका वस्तुहरु बजारसम्म पु¥याउनका लागि सहजीकरण गर्ने उल्लेख  गरे । तालिम सञ्चालन गरेर महिलाहरुलाई स्वावलम्बन र सशक्तिकरण समेत बनाउन खोजिएको वडा अध्यक्ष रावलको भनाई छ । “हिजो महिलाहरु घरबाट निस्किने स्वतन्त्रता थिएन, अहिले घर बाहिर निस्किन मात्र होइन,आर्थिक आयआर्जनसँग जोडिने स्वतन्त्रता पनि महिलाले प्राप्त गरेका छन् ” अध्यक्ष रावलले भने । तालिमबाट महिलाहरु उद्यमी बन्ने र नगरभित्र आर्थिक चलायमान बढ्ने उनले विश्वास व्यक्त गरे । सानो पूँजीमा व्यवसाय सञ्चालन गर्न सकिने भएकाले महिलाहरु सजिलै आत्मनिर्भर बन्न सक्ने रावलको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update