Shittalpati
आजदेखि कडा मलमास लाग्दै : नवदम्पतीले बार्नै पर्ने, के–के गर्नुहुँदैन ?

पाल्पा, प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ ।  असार १ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार तीन सय ६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् ।

दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ । एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिने भनेर विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस वर्ष जेठ महिनाको २ गते शनिबार र ३१ गते आइतबारका दिन औंशी तिथि परेको छ । पञ्चांग गणनाको सूर्यमानअनुसार वर्षमा ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जब कि चन्द्रमान अनुसार वर्षमा ३५४ दिन, २२ घडी, १ पला र २३ विपला हुन्छ । सूर्य तथा चन्द्रमानबीच वर्षमा १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तर हुने गर्छ । यसै अन्तरलाई समायोजित गर्नका लागि ‘अधिक मास’को व्यवस्था गरिएको ज्योति हरी पन्तले बताए । अधिका मासको निर्णय सूर्य सङ्क्रान्तिको आधारमा गरिन्छ । जुन महिनामा सूर्य सङ्क्रान्ति हुँदैन त्यसलाई अधिक मास भनिन्छ । ज्योतिषशास्त्रीय दृष्टिकोणले अधिमास, अधिकमास तथा पौराणिक दृष्टिले पुरुषोत्तम मास, पुरुषोत्तम महिना भनिने यो महिना हरेक ३३ महिनामा पर्दछ । जुन चान्द्रमासमा सूर्यसङ्क्रान्ति हुँदैन, त्यो महिनालाई अधिमास भनिन्छ । अर्को अर्थमा भन्दा यदि चान्द्रमासको दुवै पक्षमा सूर्य सङ्क्रान्ति हुँदैन अर्थात् सूर्य कुुनै पनि राशिमा प्रवेश गर्दैन भने त्यो सङ्क्रान्तिहीन महिना गणना गर्दा फाल्टु हुन्छ र यही फाल्टु महिनालाई चलनचल्तीको भाषामा अधिकमास, अधिमास, मलमास, पुरुषोत्तम मास या पुरुषोत्तम महिना भनिन्छ ।

मलमासमा नवदम्पतिले के–के गर्नुहुँदैन ?
एक वर्ष पूरा नभएका अर्थात नवविवाहित पतिपत्नीबीच यौनसम्पर्क भए पतिको आयु क्षीण अर्थात थोरै हुन्छ भनिएको छ । यसको अर्थ पुराना दमपतीलाई चाहिँ छुट छ भनिएको होइन, पूराना दम्पतीमा पनि यो नियम केही हदसम्म लागू हुन्छ । यो अवस्थामा यौनसम्पर्क भएर गर्भ रहे सन्तान स्वस्थ जन्मँदैन । गर्भ रहेर बच्चा जन्मिए पनि आयु थोरै हुन्छ भनिएको छ । यस्तै नयाँ जोडी मलमासभर एउटै घरमा बस्न नहुने र एउटै धाराको पानी पिउन नहुने शास्त्रीय मान्यता छ । विवाहदेखि पछिको पहिलो वा विवाह गरेको वर्षमा आउने महिना आषाढमा पतिगृहमा अर्थात श्रीमानसँग बस्दा बुहारीले सासू पिर्ने,पहिलो क्षयमासमा बस्दा आफ्नै शरीरमा पीडा हुने, पहिलो जेठमा बस्दा जेठाजु पिर्ने,पहिलो पुसमा बस्दा ससुरालाई पिर्ने,पहिलो अधिकमासमा बस्दा पतिलाई पिर्ने, पहिलो चैतमा पितृगृहमा बस्दा आफ्नै पिता अर्थात बुबालाई पिर्ने ज्यो. पन्तको भनाई छ । उनका अनुसार यो मलमास सके एक महिना, नसके १५ दिन, नभए सात दिन त्यो पनि नसक्नेले तीन दिन अनिवार्य बार्नुपर्ने बताए । 

मलमासमा के गर्ने ? के नगर्ने ?
मलमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्नुहुन्छ । नित्य बसिरहेको व्रत गर्ने विभिन्न शास्त्रमा वर्णन गरिएको छ । पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको सुरुवात गर्नु नहुने परम्परा छ । मलमासको समयमा महादान, मांगलिक कार्य अर्थात् विवाह, व्रतबन्ध, गृहनिर्माण, गृहप्रवेशजस्ता कर्म गर्नु हुँदैन । यसैगरी गर्भाधान गर्नुहुँदैन, पहिले नै गर्भ रहेको भए दोष लाग्दैन । नवविवाहित श्रीमान् श्रीमतीले मलमासलाई छल्नुपर्छ भन्ने परम्परा पनि गर्भाधान गर्नु हँदैन भन्ने मान्यतामै आधारित रहेको धर्मशास्त्रविद्को भनाइ छ । बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्नु हुँदैन ।
मलमासमा गर्न हुने कार्यः
 यो समयमा वार्षिकी कार्य, दैनिक नित्य कर्म सधैँ गरेर ल्याइएका कर्महरू, जस्तोः हरेक दिन बिहान बेलुका पूजा,पुरुषोत्तम पूजा कथा श्रवण, भगवान् विष्णुको स्तुति र कीर्तन,न्वारन, पास्नी,दैनिक उपभोग्य सामग्री खरिद  गर्न सकिन्छ ।


 

प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update