Shittalpati
विश्व पृथ्वी दिवसको सन्दर्भ

विश्व पृथ्वी दिवस  आज नेपालसहित विश्वभर मनाइँदै छ ।  हरेक वर्ष विश्वमा २२ अप्रिलको दिन यो दिवस मनाइन्छ । यो एउटा दिवस हो जसलाई पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको हो ।  सन् १९६९ अमेरिकाको सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलाद्र्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए। तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे । त्यस दिन देखि आज सम्म प्रत्येक वर्षको अप्रिल २२ तारिखका दिन संसार भरि नै बिश्व पृथ्वी दिवस मनाउने गरिन्छ ।

हरेक वर्ष दिवस मनाइँदै गए पनि पृथ्वीमाथि मानिसको अव्यवस्थित दोहन बढ्दै गएको छ । यो अत्यन्त दुखको कुरा हो । प्रकृति र पर्यावरण माथिको खेलवाडले जलवायु परिवर्तनको चपेटामा पृथ्वी परेको छ । औद्योगिक विकासको अस्वस्थ होडबाजीले जल, जंगल, जमिन र जीवजन्तुलाई नकारात्मक असर पर्दै गएको छ । अहिले जमिन मरुभूमीकरण बन्दै गएको, समुद्रको सतह बढ्दै गएको, हिमालको हिउँ पग्लिरहेको, आगलागी, वन विनाश जस्ता घटनाले पृथ्वी संकटमा छ । नेपाल विश्वसँगै जलवायु परिवर्तन र बढ्दो प्रदूषणको चपेटामा पर्दै गएको छ । प्रदुषणको जटिलताले गर्दा मानिसलगायत प्राणीजगत विभिन्न क्षेत्रका सिकार भइरहेका छन् ।

हामी बाँचेको पृथ्वीको हावापानी अघिल्लो पुस्ताले भोगेको भन्दा फरक छ । २५ वर्ष पहिले जस्तो विश्व अहिले छैन् । यस्तै अवस्था रहँदा आगामी पुस्ता त के युवा पुस्ताले नै अहिले भोगेको भन्दा भिन्न हावापानी भएको पृथ्वी पाउने छन् । जलवायु परिवर्तनका कारण सधैं हिउँले भरिएर टल्कने हिमाल काला बन्दैछन् । कयौं हिमनदीले आफ्नो भौगोलिक गति र स्थान फेरबदल गरिरहेका छन् । फुट्न लागेका र फुटेर लोप भएका हिमनदीको तथ्यांक बढ्दैछ । जलवायु परिवर्तनले समुद्र तटदेखि हिमालको चुचुरासम्मलाई आफ्नो प्रभाव क्षेत्रका रूपमा ताण्डव मचाएको छ । तर पृथ्वीको संरक्षण गर्ने दिशामा कसैको पनि ध्यान जान सकेको छैन । हरेक वर्ष यो दिवस मनाइने गरिए पनि पृथ्वी जोगाउने कुरामा कसैले पनि चिन्ता व्यक्त गरेको पाइँदैन । यो विडम्वनाको कुरा हो । पृथ्वीको विनाश हुनु भनेको मानव लगायत सम्पूर्ण प्राणी जगतको विनाश हुनु हो । यसप्रति सबैले चिन्तन गर्नु आवश्यक छ । पृथ्वी बचाउन जलवायु परिवर्तनको असर कम गर्न मानिसले व्यवहार परिवर्तन गर्न आवश्यक देखिन्छ । यसको सुरुवातका लागि जङ्गल क्षेत्र बढाउने र दिगो विकासका लागि वैकल्पिक उपायको खोजि गरिनुपर्छ । यसो गर्न सकियो भने मात्र हरेक वर्ष पृथ्वी दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ ।

प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update