पाल्पा, सरकारले सातामा दुई दिन विदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सोमबारदेखि लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो ।
पेट्रोलियम पदार्थ आपूर्तिमा उत्पन्न असहज अवस्थाका कारण सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । साथै शैक्षिक संस्थाबाहेका कार्यालयहरूमा कार्यालय समय ९ बजेदेखि ५ बजे रहने पनि उनले जानकारी दिए । बैठकले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था गर्ने समेत निर्णय गरेको छ । इरान र अमेरिका–इजरायल युद्धका कारण नेपालमा पनि इन्धन संकट देखिन थालेको छ । साथै पछिल्लो समय पेट्रोलियम पदार्थमा समेत भारी मूल्यवृद्धि भएको छ । पछिल्लो समय पेट्रोलको भाउ प्रतिलिटर २ सय २ रुपैयाँ पुगिसकेको छ ।यस्तै बैठकले आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरू गर्ने निर्णय गरेको छ । यसअघि शैक्षिक सत्र वैशाख २ गतेदेखि सुरू हुने गरेको थियो ।


