पाल्पा, आज महावीर स्वामी जन्म जयन्ती, हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको त्रयोदशी तिथिमा यो जन्म जयन्ती मनाइन्छ । महावीरले जैन धर्मको खोजसँगै यस धर्मका प्रमुख सिद्धान्तहरुको प्रतिपादन गरेका थिए ।
महावीर स्वामीलाई जैन धर्मका २४ औं तीर्थकर तथा भगवानका रुपमा पूजा गरिन्छ । त्यसैकारण यस दिन भगवान् महावीरको शोभा यात्रा निकालिन्छ, जसमा जैन धर्मका अनुयायीहरुको ठूलो सहभागीता रहन्छ । नेपालसहित विश्वभर छरिएर जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले जन्म जयन्ती हर्षोल्लासपूर्वक मनाउँछन् । यस दिनलाई महावीर जन्मकल्याणक समेत भनिन्छ । करिब २६ सय वर्षअघि वैशाली गणतन्त्र (हाल भारत बिहारको मुजफ्ररपुर जिल्लाको बसाढ गाउँ) को क्षत्रीय कुण्डलपुरमा बाबु सिद्धार्थ तथा आमा त्रिशलाका तेस्रो सन्तानका रूपमा वर्धमानको जन्म भएको थियो । उनै बर्धमान पछि महावीर स्वामी बनेका थिए ।
महावीर स्वामी जैन धर्मका प्रवर्तक हुन् । उनी अहिंसाका प्रतीक थिए । उनको जीवन त्याग एवं तपस्याले ओतप्रोत थियो । जुन युगमा हिंसा, पशुबली, जातपातको भेदभाव थियो त्यसै युगमा जन्मिएका महावीरले संसारलाई सत्य एवं अहिंसाको पाठ पढाएका थिए ।महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचारी र अपरिग्रहका सिद्धान्तहरू परिपालन गर्न सिकाएका थिए । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ । उनीहरुले महावीरलाई भगवानको रुपमा पुज्ने गर्दछन् ।


