Shittalpati
नेकपा पाल्पा क्षेत्र नं. १ का सुनारीको प्रतिवद्धता सार्वजनिक  

पाल्पा (तानसेन), नेपाली कम्युनिष्ट पार्टी  पाल्पा क्षेत्र नं. १ का उम्मेदवार हुमबहादुर सुनारी मगरले चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् । उम्मेद्वार सुनारीले तानसनेमा पत्रकार सम्मेलन गरेर आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

सुनारीले प्रतिबद्धता सार्वजनिक गर्दै पूर्वी पाल्पाको समग्र विकासका लागि खाका तयार गरेको बताए । उनले आफू निर्वाचित भएमा आदीवासी जनजातिका बहुल्यता रहेको क्षेत्र भएका कारण घरेलु मदिरा (तीनपाने रक्सी) लाई ब्रान्डिङ्ग गर्ने प्रतिवद्धता जनाए ।  पाल्पामा प्रसिद्ध तीनपाने रक्सीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गरी स्थानीय उत्पादनलाई आर्थिक समृद्धिको आधार बनाउने योजना रहेको उनको भनाई छ । “तीनपाने रकसी हाम्रो पहिचान हो, यसलाई व्यवस्थित उत्पादन, गुणस्तर मापदण्ड र बजार विस्तारमार्फत रोजगारी र आम्दानीसँग जोड्नेछौं,” उनले भने । उम्मेदवार सुनारीले रामपुरलाई पर्यटकीय शहर बनाउने, आर्यभञ्ज्याङ्ग ताहँु रामपुर सडक खण्डलाई स्तरउन्नति गर्ने, कृषि, पशुपालन र पर्यटन पूर्वाधार निर्माण गर्ने लगायतका योजना आफूले राखेको बताए । सुनारीले कालिगण्डकी डाइभर्सन रोक्न आफू प्रतिबद्ध भएको बताए । उनले भने “कालीगण्डकी हाम्रो सभ्यता बोकेको सम्पदा हो, हामीले कालीगण्डकीलाई डाइभर्सन गरेर होइन्, यसको सभ्यतालाई संरक्षण गरेर स्थानीयको आयआर्जनसंग जोड्नका लागि योजना बनाएका छौं ।” कालीगण्डकीको सभ्यता जोगाउँदै हुँगीमा ड्याम बनाएर विद्युत  उत्पादन गर्ने योजना रहेको उनको भनाई छ । सुनारीले ग्रामीण सडकको स्तरउन्नति, स्थानीय पूर्वाधार विकास, युवालाई रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा पर्यटन प्रबद्र्धनलाई पनि प्राथमिकता दिने बताए ।  पाल्पा–१ मा विकास र संरक्षण सँगसँगै लैजान आफ्नो उम्मेदवारी रहेको उनले उल्लेख गरे ।

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update