Shittalpati
राजनीतिक स्थिरता र विकासका  लागि एमालेलाई बहुमत आवश्यक  : एमाले उम्मेदवार गैरे

पाल्पा, नेकपा एमाले पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ठाकुरप्रसाद गैरेले राजनीतिक स्थिरता र विकासका लागि एमालेले बहुमत लिन आवश्यक रहेको बताएका छन् । शुक्रबार रिब्दीकोट गाउँपालिकाका विभिन्न वडामा पुगेर मतदातासँगको भेटघाट र सुझाव संकलनका क्रममा उनले यस्तो बताएका हुन् ।

नेता गैरेले देशमा राजनीतिक स्थिरता र विकासका योजनाहरू सफल पार्न नेकपा एमालेको स्पष्ट बहुमत हुनुपर्नेमा जोड दिँदै  भने, “मैले सधैँ पाल्पाको विकास र राष्ट्रियताको पक्षमा आवाज उठाउँदै आएको छु, ती एजेन्डाहरूलाई तार्किक निष्कर्षमा पुर्‍याउन यस पटक सूर्य चिन्हमा मतदान गरी मलाई र एमाले उम्मेदवारहरूलाई विजयी गराउनुहुनेछ भन्ने विश्वास छ ।” रिब्दीकोटको ख्याहा,देउरालीलगायत क्षेत्रका मतदातासँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवार गैरेले यस क्षेत्रको कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य र सडक पूर्वाधार, खानेपानीको क्षेत्रमा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले यस क्षेत्रको सुन्ताला खेतीको विकास र विस्तारलाई मध्यनजर गरी पहिलो पटक संसदमा पुग्दा सुन्तलालाई राष्ट्रिय फल घोषणाका लागि आवाज उठाएको जानकारी गराए । 

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update