Shittalpati
उम्मेदवार मतदाताको घरदैलोमा

पाल्पा,आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा पाल्पाका उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । आफ्नो पक्षमा मत तान्न उम्मेदवारहरु मतदातामाझ विभिन्न आश्वासन बाँडिरहेका छन् ।
 
पाल्पा क्षेत्र नं. २ मा नेपाली काँग्रेसका उम्मेदवार हिमालदत्त श्रेष्ठ दिनहुँ मतदाता भेटघाटमै व्यस्त छन् ।  उनी मित्रवत् व्यवहार र आर्थिक मितव्यिताको अवधारण आगाडि सार्दै मतदाता भेटिरहेका छन् । नेता श्रेष्ठले देशलाई संकटबाट बचाउन काँग्रेसलाई जिताउन मतदातासँग आग्रह गर्दै  आएका छन् । युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गरी विदेशमा पाइने सुविधा र सम्मान यहीँ उपलब्ध गराउन काँग्रेसलाई विजय गराउन आवश्यक रहेको उनले मतदाताहरुलाई बताएका छन् । उनले विहीबार  पश्चिमका मतदाताहरुलाई भेट्दै पर्यटन, कृषिको माध्यमबाट छिट्टै  समृद्धि हासिल  गर्न सकिने भन्दै  शिक्षा, स्वास्थ्य, पर्यटन, उद्यमशीलता र पूर्वाधार विकास  आफ्नो प्राथमिकता रहेको उल्लेख गरे । यस्तै नेकपा एमालेको तर्फबाट पाल्पा क्षेत्र नं. २ मा उम्मेदवार बनेका ठाकुरप्रसाद गैरेले पनि रैनादेवी छहराका विभिन्न वडामा पुगेर मतदातासँग चुनावी  घरदैलो गरिरहेका छन् । रैनादेवी छहराको मुझुङ, भालुखानबाट मतदाता भेटघाट सुरु गरेका उनले अमलाबास, छहरा, मेहलढाप,तिनधारा सल्लेधारा हुँदै जुठापौवा, बल्डेङगढी र सत्यवती पुगेर देशमा बढेको भष्ट्राचारको अन्त्य, सुशासन र  नवपुस्ताको मागलाई सम्बोधन गर्न भन्दै मत मागेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट पाल्पा क्षेत्र नम्बर २ का उम्मेद्वार सोम प्रसाद पाण्डेय पनि घरदैलामै व्यवस्त छन् । उनले बगनाससकाली गाउँपालिकाका विभिन्न वडामा मतदातासँगको भेटघाटमा आफू साझा उम्मेदवार भएको दावी गर्दै मत मागेका छन् । पूर्व मन्त्री समेत रहेका पाण्डेयले मतदातांसँगको भेटघाटमा निर्वाचन जित्दा मात्रै नभएर आफूले निर्वाचनमा पराजित भएको बेला पनि जनतासँग सधै सँगै रहेको बताएका छन् । यसै क्षेत्रका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव पाण्डे पनि घरदैलोमा व्यवस्त छन् । उनले पनि आफु नयाँ र वैकल्पिक शक्ति भएकाले आफुहरुले मत दिन मतदाताहरुसँग आग्रह गरेका छन् । जिल्लाका अन्य उम्मेदवारहरुले समेत घरदैलो, सभा र छलफललाई तिव्रता दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update