Shittalpati
'पश्चिम पाल्पामा काँग्रेसको जनलहर बढ्दो’

पाल्पा,नेपाली काँग्रेस  पाल्पाका सभापति तथा क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार हिमादत्त श्रेष्ठले पश्चिम पाल्पामा काँग्रेसको पक्षमा जनलहर बढ्दै गएको बताएका छन् । विहीबार प्रजातन्त्र दिवसको अवसरमा नेपाल तरुण दल रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा भएको वृहत्त भेलालाई छहरामा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले पाल्पा  क्षेत्र नं. २ मा अन्य दलहरुभन्दा काँग्रेस बलियो भएको तर्क राखे ।

नेता श्रेष्ठले  अरूले गफ गर्ने तर आफूले काम गर्ने बताए । “गफभन्दा पनि हामी काम गरेर देखाउन्छौं, जसले काँग्रेसप्रति जनताको विश्वास बढ्दो छ,” उनले भने । श्रेष्ठले काँग्रेसको पक्षमा व्यापक जनलहर आएकाले विरोधीहरूमा तरंग उत्पन्न भएको बताए ।“हाम्रो पार्टीले समाजमा विचारको नयाँ तरंग उब्जाएको छ, जसले गर्दा विरोधी अत्तालिएका छन्,” श्रेष्ठले भने, “ काँग्रेस बदलिएर आएको छ, युवा नेतृत्वका  साथ अघि बढेका छौं, नयाँ विचार र नयाँ योजनाका साथ अगाडि बढेकाले काँग्रेसका उम्मेदवारलाई अत्याधिक मतका साथ विजयी बनाउनुहोस् ।” उनले निर्वाचनपछि पछि बन्ने  नेपाली काँग्रेसको सरकारले गाउँमै कृषि, घरेलुु उद्योगहरुको स्थापना गरी युवाहरुलाई उद्यमीशीलता र रोजगार प्रदान गर्ने समेत श्रेष्ठले उद्घोष गरे ।

कार्यक्रममा विभिन्न  पार्टी परित्याग गरी काँग्रेसमा दुई दर्जन युवाहरु प्रवेश गरेको सचिवालय सदस्य दिपक पोखरेलले जानकारी दिए । उनका अनुसार काँग्रेसले नयाँ अनुहार र युवा उम्मेदवारलाई उठाएपछि पश्चिम पाल्पामा युवाहरु उत्साहित भएका छन् । यस क्षेत्रमा काँग्रेसको पक्षमा जनलहर बढेको पोखरेलले बताए । नवप्रवेशी युवाहरुले भ्रम, अस्थिरता र भीडको राजनीतिले देशको भविष्य नबन्ने निष्कर्षसहित स्पष्ट विचार, नीति र सिद्धान्त बोकेको दल नेपाली कांग्रेसमै आफ्नो राजनीतिक यात्रा अघि बढाउने निर्णय गरेको बताएका छन् । बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेस जनताको भरोसाको केन्द्र बनेको र आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन संगठित रूपमा लाग्ने प्रतिबद्धता समेत उनीहरुले व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update