पाल्पा,नेपाली कम्युनिष्ट पार्टी पाल्पा क्षेत्र नं. २ का उम्मेदवार सोम प्रसाद पाण्डेयले आफ्नो सम्पूर्ण जीवन पाल्पाली जनाताको सेवामा समर्पित गरेको बताएका छन् । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि मत माग्न घरदैलोमा कार्यक्रममा व्यस्त रहेका उनले यस क्षेत्रका मतदाताहरुसँगको भेटमा आफ्नो जीवन जनताको सेवामै खर्चिएको बताएका हुन् ।
बगनाससकाली गाउँपालिकाका विभिन्न वडामा मतदातासंगको भेटघाटमा उम्मेदवार पाण्डेयले आफू साझा उम्मेद्वार भएको दावी समेत गरेका छन् । पूर्व मन्त्री समेत रहेका उनले निर्वाचन जित्दा मात्रै नभएर आफूले निर्वाचनमा पराजित भएको बेला पनि जनतासंग सधै संगै रहेको उल्लेख गरे । उनले भने “म जनप्रतिनिधि भएदेखि नै जनतामाझ छु । मेरो जीवन अब पूर्ण रुपमा जनताका लागि नै हो । पाल्पाली जनताले मलाई यो स्थानमा पुर्याउनुभएको हो ।”उम्मेदवार पाण्डेयले जिल्लाका दर्जनबढी सडकको नामाकरणदेखि ठूला र विकासका पूर्वाधारसंग जोडिएका विषयमा आफूले सक्दो पहल गरेको बताए । उनले अहिले पाल्पा –२ का जनताले विकास रोज्ने हुँदा आफू निर्वाचित हुने दावी गरे । मतदातासंग छलफलपछि उम्मेदवार पाण्डेयले जिल्लामा विकासका पूर्वाधारको शुनिश्चितता र आर्थिक समृद्धिका लागि तारा चिन्हमा मतदान गर्नुपर्ने बताए । उनले ग्रामीण भेगमा बादर, बदेल, दुम्सीलगायत जंगली जनावरले पारेको हैरानी रोक्न र बसाईसराई रोक्नका लागि नीतिगत व्यवस्था गर्नुपर्ने भएको बताउँदै समग्र जिल्लाको विकाससंग जोडिएर अघि बढ्नका लागि निधक्क भएर मतदान गर्न सबैलाई आग्रह गरे ।


