Shittalpati
रामपुरमा बाँदर धपाउने उपकरणको परीक्षण

इमान सिं राना

पाल्पा(रामपुर) । पछिल्लो समय देशका विभिन्न भागमा बाँदर आतंकबाट कृषकहरु प्रभावित बन्दै आएका छन् । बाँदर आतंक विगतमा पनि नभएको भने होईन । तत्कालिन समयमा गाउँ तथा डाँडा भेगमा बाक्लो बस्ती हुनुका साथै भरुवा बन्दुक पड्काएर धपाउने प्रयास गरिन्थ्यो । तर अवैध घरेलु हतियारको रुपमा रहेको भरुवा बन्दुक सरकारलाई बुझाए पछि स्थानीयहरुले सास्ती भोग्दै आएका थिए । अहिले भरुवा बन्दुकको सत्तामा प्रयोग गर्न सकिने उपकरण युवाहरुले बनाई रहेका छन् । यस्तै ठूलो आवाज दिएर बाँदर धपाउने उपकरणको रामपुरमा पनि विहिबार परीक्षण गरिएको छ । रामपुर ५ बेझाँडमा प्लम्बिङ्ग व्यवसाय सञ्चालन गर्दै आएका जायश्वर पाण्डे र तिर्थ पाण्डे दाजुभाईले तयार गरेको उपकरणको रामपुर नगरपालिकाको परिसरमा इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय र नगरपालिकाको रहोवरमा परीक्षण गरिएको हो ।

पाण्डे दाजुभाईले साढे २ फिट लामो ४ इन्च र ३ फिट लामो २. ५ इन्चको पिभिसी पाईप जोडेर उपकरण तयार गरेका हुन् । पाईपलाई रेडिसरले जोडेर ४ इन्च पाईप तर्फको भाग टालेर उपकरण बनाएका हुन् । सो उपकरणमा केरा तथा विभिन्न फलफुल पकाउन प्रयोग गरिने ‘क्याल्सियम कार्बाेहाईड’ र पानीको मिश्रण राखेर पछाडीबाट ग्यास लाइटरको सहायताले आगो लगाएपछि ठूलो आवाजमा पड्किदा बादर भाग्ने विश्वास लिईएको छ । युवा जायश्वर पाण्डेले अन्य स्थानमा पनि यस्ता सामाग्री प्रयोग भैरहेको अवस्थामा युट्युव हेरर उपकरण तयार पारिएको बताए । उनले उपकरण सहजै प्रयोग गर्न सकिने बताउँदै पड्काउँदा आकाश मै आगो निभ्ने हुनाले खतरा नरहेको बताए । उनले क्याल्सियम कार्बाेहाईड १० ग्राम र एक विर्को पानी राखेर बनाएको घोल रासायनिक प्रतिक्रिया पश्चात ग्यासमा परिणत हुने र आगो पर्दा ठूलो आवाज दिने बताए । उनले प्रशासनबाट अनुमति प्राप्त भएमा १ सय वटा तत्कालै तयार गरेर वितरण गर्न सकिने बताए ।

युवा तिर्थ पाण्डेले रामपुर क्षेत्रका माथिल्लो भागमा पनि बाँदरले सताउने गरेको खबर आईरहेकाले त्यसैलाई मध्यनजर गरी उपकरण तयार गरिएको बताए । उपकरण रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोक कुमार आचार्य सहित इलाका प्रहरी कार्यालय रामपुरका प्रतिनिधि र स्थानियहरुको उपस्थितिमा फड्काएर परीक्षण गरेका थिए नगर प्रमुख थापाले नगरको माथिल्लो भागमा बाँदर आतंकको गुनासो आईरहेको र नगरले पनि आगामी आर्थिक वर्षमा सम्बोधन गर्ने तयारी गरेको बताए । उनले प्रशासन संगको अनुमतिका लागि नगरपालिकाले पनि सक्दो सहयोग गर्ने बताए । उनले प्रविधिलाई अनुमति प्राप्त भएमा बाँदर प्रभावित क्षेत्रमा प्रयोग गरिने बताए । बाँदर धपाउनका लागि किसानले खेतबारीमै कुरेर बस्नपर्ने अवस्था भएका कारणले पनि पछिल्लो समय खेतबारीमा बालीनाली लगाउने कार्य हराउँदै गएका बेला यसको प्रयोगले समस्या समाधान हुने विश्वास उनले व्यक्त गरे । गाउँगाउँमा मकै, तरकारी तथा फलफूल खाइदिने, टिपेर फालिदिनेजस्ता आतङ्क बाँदरले मच्चाउने गरेको छ ।

प्रकाशित मिति: बिहीबार, असार ४, २०७७  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update